मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

डिसी नेपाल
१ कार्तिक २०८३ ८:२९

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्का कारण म्याग्दीको बेनी नगरपालिकामा ठूलो क्षति पुगेको छ। बाढीपहिरोबाट २४२ निजी आवासमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायतका संरचनामा करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार बाढीपहिरोका कारण ९१ घर पूर्ण र १५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती सबै घर पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारे क्षेत्रमा भएको छ। पहिरोमा पुरिएर त्यहाँ दुई जनाको मृत्यु भएको थियो। विपद्का कारण ३३ वटा गोठमा समेत क्षति पुगेको छ।

बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खालसमेत असोज ११ गतेको बाढीले भत्काएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको ७५ लाख रुपैयाँ अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग थप एक करोड रुपैयाँ माग गरिएको छ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेका अनुसार क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, पछिल्ला चार वर्षमा १३ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका खानेपानी योजनामध्ये नौ करोड रुपैयाँ खर्च भएका योजनामा क्षति पुगेको छ। क्षतिग्रस्त खानेपानी संरचना पुनर्निर्माण गर्न पाँच करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि प्राविधिकहरूले १४ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छन्। सदरमुकामबाहिरका बस्तीमा खानेपानीका पाइप मर्मत तथा पुनःस्थापनाका लागि तत्काल एक करोड रुपैयाँ बराबरका पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनसँग माग गरिएको उपप्रमुख लामिछानेले जानकारी दिइन्।

विपद्बाट दुई विद्यालय भवन, दुई शौचालय, एउटा बालविकास केन्द्र र एउटा स्वास्थ्यचौकीको भवनमा पनि क्षति पुगेको छ। सिङ्गामा रहेको लिफ्ट खानेपानी तथा सिँचाइ आयोजना र रत्नेचौरको लिफ्ट खानेपानी योजनासमेत प्रभावित भएका छन्।

यसैगरी, पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढीपहिरोका कारण दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवास, सडक, खानेपानी तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतका लागि ठूलो बजेट आवश्यक पर्ने भएपछि नगरपालिकालाई पुनःस्थापनाको चुनौती थपिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *