प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम

डिसी नेपाल
११ माघ २०७६ ९:५०

पाल्पा । रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो। हरियो र नीलो दुई थरिका स्टिकर घर घरमा टाँसियो।

नगरपालिकाका ४, ५, ६ र ७ का वडाका करिब दुई हजार घरधुरीमा सरसफाइको स्टिकर टाँसिएयो । यसको नियमित अनुगमन मूल्याङ्कन नहुँदा यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरिएको छ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रामपुर नगरपालिकासँग साझेदारी गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो।

यसको लागि परियोजनाले दुई कर्मचारी राखेको थियो । परियोजनाको कार्यक्रम अवधि सकिएपछि यसले निरन्तरता पाउन सकेन।

नगरपालिकाले थोरै बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिन सक्ने भए पनि यसप्रति बेवास्ता गरेकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको स्थानीय बताउँछन्।

घरघरमा पूर्ण सरसफाइ र आंशिक सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँसेपछि नगरपालिकाले अनुगमन र निगरानी बेला बेलामा गर्नुपर्ने स्थानीय मनिराज तिवारी बताउँछन् ।

“घर घरमा नीलो र हरियो स्टिकर टाँसेपछि सरसफाइमा निरन्तरता दिएका छन् या छैनन् भनेर नगरपालिकाले अनुगमन र निगरानी गर्नुपर्ने हो, परियोजनाको कार्यक्रम अवधि सकिएपछि त्यसले गरेका काम निरन्तरता हुन नसक्दा लगानी खेर गइरहेको छ”, उनले भने ।

परियोजनाले नगरपालिका–६ को विजयपुर बजार र रामपुर अस्पतालमा एक/एक शौचालय निर्माण गरिदिएको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउँछन् ।

परियोजनाबाट रु १३ लाख र नगरपालिकाको रु १३ लाखमा शौचालय निर्माण गरिएको हो।

“स्टिकर टाँसिएपछि केही समय अनुगमन गरियो, अवधि सकिएपछि निगरानी नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेन”, उनले भने ।

घरभित्र र घर वरिपरि निस्कने फोहोरजन्य पदार्थले विभिन्न किसिमका रोग मानिसमा निम्त्याउने हुँदा नियमित सरसफाइमा ध्यान दिन सचेत गराउँदै स्टिकर टाँस्ने कार्यक्रम सञ्चालन गरिएको हो।

हरियोले सरसफाइ पूर्ण र नीलोले सरसफाई पूर्ण नभएको सङ्केत जनाउने स्टिकर घरघरमा टाँसिएको छ।

कतिपय स्थानमा पूर्ण सरसफाइ नभएको ठाउँमा नीलो स्टिकर टाँस्ने काम भएको स्थानीय सरस्वती सोमैले बताए ।

“स्टिकर टाँस्न आउँदा एक/एक महिनामा नगरपालिकाले अनुगमन गर्नेछ भनिएको थियो, स्टिकर टाँसेको दुई वर्ष बितिसक्यो अहिलेसम्म अनुगमनमा कोही आएको छैन”, उनले भने ।

रामपुरलाई सफा र सुन्दर नगर बनाउन घरमा पूर्ण सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँस्ने कार्यक्रमले सघाउ पुग्नेछ तर नियमित अनुगमन र निरन्तरता नभएकोमा चिन्ता व्यक्त गरिएको छ।

व्यक्तिगत सरसफाइ, सफा र स्वच्छ घर आँगन, सुरक्षित खाना, सुरक्षित पानी, चर्पीको नियमित प्रयोगजस्ता पाँच सूचक पूरा भएको घरघरमा पूर्ण सरसफाइको सङ्केत जनाउने हरियो स्टिकर टाँसिएको परियोजनाका तत्कालीन कर्मचारी गीता पौडेलले बताए ।

नगरपालिकाले अनुगमन र निरन्तरता दिन नसक्दा कार्यक्रमले प्रतिफल दिन नसकेको पौडेलको भनाइ थियो।

सामाजिक परिचालक, नगर स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधिलगायतले घर आँगन, घरभित्रको अवस्था, शौचालयको अवस्था आदिको अवलोकन गरेर मात्र हरियो र नीलो स्टिकर टाँस गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *