सामुदायिक वनमा कृत्रिम ड्याम निर्माणपछि दाङका किसानलाई सिँचाइमा सहजता, भूमिगत जलस्तर पनि बढ्यो

डिसी नेपाल
६ कार्तिक २०८३ ६:५६
4
Shares

तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूलाई सिँचाइ गर्न सहज भएको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र पूर्ण रूपमा आकासे पानीको भर पर्नुपर्ने खेतबारीमा अहिले सहजै पानी पुग्न थालेको छ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेको उक्त ड्यामबाट हाल हेमन्तपुर भेगमा नियमित सिँचाइ भइरहेको छ। यस्तै धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिँचाइको पहुँच विस्तार गर्ने काम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए।

ड्याम निर्माणपछि सिँचाइमा सुधार हुनुका साथै आसपासका कुवा तथा इनारहरूमा पानीको सतहसमेत बढेको नेपालीले बताए। यसबाट स्थानीयलाई खानेपानी र अन्य प्रयोजनका लागि पनि निकै सहज भएको उनले उल्लेख गरे।

तुलसीपुर उपमहानगरपालिका-१८ का वडाध्यक्ष माधव वलीका अनुसार विगतमा चैत महिनामै सुक्ने इनारहरूमा अहिले तालतलैयाका कारण जलपुनर्भरण (रिचार्ज) भएर वर्षैभरि पानी रहन थालेको छ। पहिले सिँचाइ अभावमा सुक्खा रहने जमिनहरू अहिले हराभरा बन्न थालेको उनले जानकारी दिए।

हाल सो क्षेत्रलाई भू-वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको वलीले बताए। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत तथा प्रकृतिको संरक्षण गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणमा ठूलो भूमिका खेलेको उनको भनाइ छ।

साथै, उक्त ड्याममा डुङ्गा सञ्चालन गरेर स्थानीय स्तरमा अतिरिक्त आम्दानीसमेत भइरहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *