बेनी-जोमसोम सडक मर्मतपछि म्याग्दीमा पर्यटकीय चहलपहल सुरु

सन्तोष गौतम/रासस
६ कार्तिक २०८३ ७:४१
4
Shares

म्याग्दी। म्याग्दीका पर्यटकीय स्थलहरूमा दसैँ लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ।

अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको चहलपहल बढेको हो। घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ-तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय व्यवसायीहरूले जानकारी दिए।

बेनी नगरपालिका-९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यका अनुसार वडादशैंको टिकालगत्तै पर्यटक आगमन बढेको छ।

“असोजको दोस्रो साता कालीगण्डकीमा आएको बाढीका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा शून्य जस्तै बनेको पर्यटक आगमन बिहीबारदेखि बढ्न थालेको छ,” आचार्यले जानकारी दिए, “मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दश्सै-तिहारको बीचमा पर्यटक आगमन बढेर थलिएको व्यापार व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौँ।”

असोज ८ देखि ११ गतेसम्मको निरन्तर झरीपछि पहिरो र कालीगण्डकीको बाढीका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ। विगतका तथ्याङ अनुसार शरद ऋतुको असो-कात्तिक महिना म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने समय हो।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकीको बाढीले गर्दा विगतका वर्षको सङ्ख्यामा विदेशी पर्यटक आउन नसके पनि दसैँ–तिहारको बिदा मनाउन पदयात्राका लागि आउने आन्तरिक पर्यटकहरूको प्रतीक्षामा रहेको जानकारी दिए।

“घोडेपानी-पुनहिल-घान्द्रुक पदमार्ग पूर्ण रूपमा सुरक्षित छ,” पुनले उल्लेख गरे, “बाढी पहिरोले क्षति पुर्‍याएको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौँ।”

घोडेपानीदेखि ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल सूर्योदय, हिमशृङ्खला अवलोकन र पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ।

पदयात्राका साथै बेनी नगरपालिका-४ मा रहेको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ-तातोपानी कुण्ड पर्यटकीय हिसाबले चर्चित छन्। म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम सातापछि पुनः सञ्चालनमा ल्याइएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा गर्ने र मुस्ताङ जाने-आउने पर्यटकहरूको थकान मेटाउने थलोका रूपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित रहेका छन्। भुरुङ-तातोपानीका सञ्चालक प्रितम पुर्जाका अनुसार करिब एक महिनापछि पर्यटकको आगमन पुनः सुरु हुन थालेको छ।

भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको यो पदमार्ग पनि प्राकृतिक विपद्बाट जोगिएको छ। भुरुङ्ग–तातोपानीका होटल व्यवसायी काजी थापाका अनुसार बिहीबार करिब एक सय ५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन्।

रुप्से झरना परिसरमा चियापसल सञ्चालन गर्दै आएकी छुमा पाइजाले करिब एक महिनाको सुनसानतापछि पर्यटकको चहलपहल हुन थालेको जानकारी दिइन्। चितवनका रमेश पाण्डेले दसैँ बिदा मनाउन मुस्ताङ भ्रमणमा आएको बताए। बस, जिप र मोटरसाइकल लगायतका सवारी साधनमा सहज रूपमा म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा जान सकिने उनले उल्लेख गरे।

सडक मर्मतमा जस्तै क्षतिग्रस्त सडक तथा पदमार्गहरूको पुनःनिर्माणलाई पनि तीव्र पारिएमा म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ। बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार पर्यटकीय याम भएकाले सडक मर्मत गरी सहज रूपमा यातायातका साधन सञ्चालन हुने वातावरण बनाउन निरन्तर काम भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *