थ्रेसर मेसिन चलाएर गाउँमै स्वरोजगार, अमजतको कमाइ धानबालीको सिजनमा डेढ लाख

डिसी नेपाल
६ कार्तिक २०८३ ८:२९

राँझा(बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्। वैदेशिक रोजगारीका लागि विदेश जाने वा अन्य पेसा अँगाल्ने युवाका बीच उनले कृषि सेवा व्यवसायबाटै राम्रो आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

शेखले तीन लाख ५० हजार रुपैयाँ लगानी गरेर थ्रेसर मेसिन खरिद गरेका थिए। धानबाली भित्र्याउने मुख्य सिजनमा सबै खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँसम्म खुद मुनाफा कमाउने गरेको उनी बताउँछन्। थ्रेसर सञ्चालन गरेबापत उनले प्रतिघण्टा दुई हजार ५०० रुपैयाँ वा एक क्विन्टल धानको दाइँ गरेबापत १२ किलो धान सेवा शुल्कका रूपमा लिने गरेका छन्।

विशेषगरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका किसानले थ्रेसर मेसिनको बढी माग गर्ने गरेका छन्। शेखका अनुसार थ्रेसर मेसिनको प्रयोगबाट एक घण्टामै १० कट्ठासम्मको धान झार्न सकिन्छ।

परम्परागत तरिकाले धान दाइँ गर्दा पराल छुट्याउने र धान केलाउने काममा धेरै समय र श्रम खर्चिनुपर्थ्यो। तर, थ्रेसर मेसिनको प्रयोगले यी काम सहज बनेका छन्। काम छिटो हुने, खर्च कम लाग्ने र समयको बचत हुने भएकाले गाउँका किसानले थ्रेसरलाई प्राथमिकता दिन थालेका छन्।

केही वर्षअघिसम्म गाउँका किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर लगाउने गर्थे। तर, अहिले प्रत्येक किसानको खेतमै मेसिन पुर्‍याउनुपर्ने अवस्था छ। यसले गर्दा इन्धन र समय बढी खर्च हुने गरेको शेखको अनुभव छ।

गाउँमा सुरुमा आफूले मात्रै थ्रेसर मेसिन सञ्चालन गरे पनि पछिल्लो समय अन्य गाउँका किसानले समेत मेसिन बोलाउन थालेपछि प्रतिस्पर्धा बढेको उनी बताउँछन्। धान झार्ने मुख्य सिजनमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानका खेतमा पुगेर सेवा दिनुपर्ने अवस्था रहेको शेखले सुनाए।

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रयोग बढेसँगै परम्परागत खेती प्रणाली सहज बन्दै गएको छ। नेपालगञ्ज–१९ स्थित सुइया गाउँका ध्रुवकुमार थापा क्षेत्री पनि आधुनिक कृषि उपकरणको प्रयोगबाट खेतीपाती गर्दै आएका छन्। उनले विगत एक दशकदेखि खेत जोत्न ट्र्याक्टर तथा धान र गहुँ भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्।

यसअघि अर्मपर्म र खेताला लगाएर खेती गर्ने गरेका क्षेत्रीको अनुभवमा आधुनिक प्रविधिले कृषि कार्यलाई निकै सहज बनाएको छ। गाउँमा खेतीपातीका लागि मजदुर पाउन कठिन हुँदै गएको र पाइहाले पनि दैनिक ६०० देखि एक हजार रुपैयाँसम्म ज्याला दिनुपर्ने अवस्था रहेको उनी बताउँछन्।

“गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ। पाइहाले पनि दैनिक ६०० देखि एक हजार रुपैयाँसम्म ज्याला माग्छन्। मजदुर लगाउँदा समय पनि धेरै लाग्छ। तर, थ्रेसर लगाउँदा झन्झटरहित तरिकाले समयमै धान भित्र्याउन सकिन्छ,” क्षेत्रीले भने।

उनका अनुसार पैसा खर्च गर्न सक्ने अवस्था भएमा खेत जोत्नेदेखि बाली भित्र्याउनेसम्मका काम सहजै गर्न सकिन्छ। आधुनिक कृषि उपकरणले किसानको श्रम र समय बचाउनुका साथै खेतीपातीको कामलाई छिटो र प्रभावकारी बनाएको छ।

अमजत शेख र ध्रुवकुमार थापा क्षेत्रीका अनुभवले गाउँमा कृषि यान्त्रीकरणको महत्त्व बढ्दै गएको देखाउँछन्। एकातिर खेताला अभाव र बढ्दो ज्यालाले किसानलाई समस्या पारिरहेको छ भने अर्कोतिर थ्रेसर र ट्र्याक्टरजस्ता उपकरणले खेतीपाती सहज बनाउनुका साथै स्थानीय स्तरमै स्वरोजगारको अवसरसमेत सिर्जना गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *