वर्षमा दुई पटक सूर्यको किरणले उज्यालिन्छ इजिप्टको तीन हजार वर्ष पुरानो मन्दिर
इजिप्ट । इजिप्टको दक्षिणी क्षेत्रमा अवस्थित करिब तीन हजार वर्ष पुरानो रामसेस द्वितीयको महान् मन्दिरमा वर्षमा दुई पटक देखिने दुर्लभ खगोलीय दृश्य अवलोकन गर्न बिहीबार बिहान सयौँ पर्यटक तथा स्थानीयवासी भेला भएका छन्। मन्दिरको भित्री कक्षमा सूर्यको सुनौलो किरण प्रवेश गरी प्राचीन मूर्तिहरूलाई उज्यालो पार्ने दृश्यले आगन्तुकलाई आकर्षित गरेको हो।
हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण मन्दिरको भित्री भागसम्म पुग्ने गर्छ। यी दुवै मितिलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासन आरोहणसँग सम्बन्धित मानिन्छ। मन्दिरको विशेष वास्तु संरचना र सूर्यको अवस्थाबीचको पङ्क्तिबद्धताका कारण सूर्यको किरण भित्री कक्षमा प्रवेश गर्छ। त्यहाँ करिब २० मिनेटसम्म प्रकाश फैलिने गर्छ।
यो दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि मन्दिर परिसरमा लामबद्ध भएका थिए। केही पर्यटक रातभर बाहिरै बसेर सूर्योदयको प्रतीक्षा गरेका थिए। सूर्यको किरणले विशाल मूर्तिहरूलाई उज्यालो पारेपछि आगन्तुकहरूले मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्नुका साथै सेल्फीसमेत लिएका थिए। विशाल मूर्तिहरूको अगाडि भेला भएका पर्यटकहरू साना देखिन्थे। नाइल नदीतर्फ फर्किएको यो मन्दिर प्राचीन इजिप्टको वास्तुकला र इन्जिनियरिङको उत्कृष्ट उदाहरण मानिन्छ।
मन्दिरमा आयोजित उत्सवका क्रममा परम्परागत पोसाकमा सजिएका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। घण्टी, तबलाको ताल र प्राचीन इजिप्टको बिगुलजस्तो बाजा मिजमारको धुनमा प्रस्तुत गरिएको नृत्यले उत्सवलाई थप आकर्षक बनाएको थियो।
मन्दिरको भित्री कक्षमा राजा रामसेस द्वितीयसहित अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू रहेका छन्। सामान्य अवस्थामा अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुगेर मूर्तिहरूलाई उज्यालो पार्छ। नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धका कारण यो अद्भुत दृश्य सम्भव भएको हो।
अमेरिकाको एटलान्टाबाट इजिप्ट पुगेकी पर्यटक जेनिस साउदीले विशाल मूर्तिहरू र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताएकी छन्। मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उनको भनाइ छ।
सन् १९६० को दशकमा अस्वान उच्च बाँध निर्माणका कारण पानीको सतह बढेर मन्दिर डुबानमा पर्न सक्ने जोखिम उत्पन्न भएपछि पुरातत्त्वविद् र इन्जिनियरहरूले यसलाई सुरक्षित स्थानमा सार्ने ठूलो परियोजना सञ्चालन गरेका थिए। मन्दिर स्थानान्तरण गर्दा सूर्यको किरण भित्री कक्षमा प्रवेश गर्ने प्राचीन पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो।
यसरी हजारौँ वर्ष पुरानो मन्दिरलाई सुरक्षित स्थानमा सारिए पनि यसको खगोलीय विशेषता जोगाउन सफल भएको छ। त्यसैले आज पनि वर्षमा दुई पटक सूर्यको किरण मन्दिरको भित्री कक्षमा प्रवेश गर्ने दृश्यले विश्वभरका पर्यटक र इतिहासप्रेमीलाई आकर्षित गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment