इजरायलमा नयाँ नेतृत्वको परीक्षा: गाजा युद्धपछि नेतान्याहु र इसेनकोटबीच कडा टक्कर
जेरुसेलम। गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका मुख्य प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
चुनाव अघिका विभिन्न जनमत सर्वेक्षणहरूले ७७ वर्षीय नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी र ६६ वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच मुख्य भिडन्त हुने देखाएका छन्।
इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि आवश्यक पर्ने ६१ सिटको स्पष्ट बहुमत कुनै पनि एक्लो दललाई प्राप्त नहुने देखिएकाले निर्वाचनलगत्तै दलहरूबीच सुरु हुने गठबन्धन निर्माण प्रक्रिया निकै निर्णायक हुने अनुमान गरिएको छ।
इजरायलको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुका समर्थकहरूले उहाँको सुरक्षा अनुभव, आर्थिक क्षमता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई प्रमुख सबल पक्षका रूपमा हेर्ने गरेका छन्।
तर, विरोधीहरूले भने सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको भीषण आक्रमणअघि ठुलो सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाउँदै आएका छन्। यद्यपि नेतान्याहुले आफूमाथि लागेका युद्ध अपराध, मानवताविरुद्धका अपराधका साथै भ्रष्टाचार, ठगी र घुसखोरीसम्बन्धी सम्पूर्ण आरोपहरू निरन्तर अस्वीकार गर्दै आएका छन्।
यसैगरी, मध्यमार्गी विकल्पका रूपमा उभिएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले गाजा युद्धकै क्रममा आफ्ना छोरा र दुई भतिजा गुमाउनुपरेको थियो। सुरुमा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका उनले सरकारसँग स्पष्ट युद्ध रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिएका थिए। राष्ट्रिय सुरक्षा नीतिमा कडा अडान राख्ने इसेनकोटलाई मतदाताहरूले वैकल्पिक नेतृत्वका रूपमा हेरेका छन्।
अर्कोतर्फ पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धन बनाएर मैदानमा छन्। प्यालेस्टिनी स्वतन्त्र राज्यको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्ने बेनेटले सन् २०२१ मा वामपन्थी र अरब दलहरूको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गरेका थिए।
निर्वाचनको अर्को महत्त्वपूर्ण पात्र राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिर हुन्, जसको अति दक्षिणपन्थी एजेन्डाले इजरायली राजनीतिमा ठुलो तरंग ल्याएको छ। प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने विवादित प्रस्तावका कारण चर्चामा रहेका बेन-गभिरकै प्रभावका कारण नेतान्याहु गठबन्धनमा दक्षिणपन्थी पकड मजबुत बनेको छ।
अर्कातर्फ ५२ वर्षीय मन्सुर अब्बास नेतृत्वको अरब राम पार्टीले स्थानीय अरब समुदायमा अपराध नियन्त्रणजस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ। सन् २०२१ मा इजरायली सरकारमा सहभागी भएर इतिहास रचेको यो पार्टीले यसपटक पनि निर्वाचनपछिको नयाँ शक्ति समीकरणमा निर्णायक भूमिका खेल्न सक्ने आकलन गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment