बंगालको खाडीमा न्यूनचापीय प्रणाली: मंगलबारदेखि हप्ताभर वर्षा र असिनाको सम्भावना

डिसी नेपाल
५ कार्तिक २०८३ १४:३८
232
Shares

काठमाडौं।आगामी सातादेखि देशका अधिकांश भूभागमा झरी पर्ने सम्भावना देखिएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

बङ्गालको खाडीमा विकसित भइरहेको नयाँ न्यूनचापीय प्रणालीको प्रत्यक्ष प्रभावका कारण नेपालमा आगामी मङ्गलबारदेखि करिब एक हप्ताभन्दा बढी समयसम्म वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्।

मौसम पूर्वानुमानका विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मोडेलहरूले आगामी हप्ता देशका धेरैजसो स्थानमा लगातारको झरी र केही ठाउँमा भारी वर्षासमेत हुन सक्ने सङ्केत देखाएका छन्। यद्यपि वर्षाको निश्चित स्थान र मात्राबारे थप स्पष्ट हुन केही समय लाग्ने र पूर्वानुमानमा केही फेरबदल पनि हुन सक्ने उनको भनाइ छ।

विशेष गरी यो समय कात्तिक महिनाको धान भित्र्याउने मुख्य सिजन भएकाले किसानहरूलाई विशेष ख्याल गर्न आग्रह गरिएको छ। मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानहरूलाई मौसमको पछिल्लो अवस्था र आधिकारिक बुलेटिनहरू निरन्तर हेरेर मात्र निर्णय लिन मौसमविद् पोखरेलले सुझाव दिएका छन्।

सम्भव भएसम्म मंगलबारअघि नै पाकेको धान काटेर सुरक्षित स्थानमा भित्र्याउन वा वर्षाको लहर सकिएपछि मात्र काट्ने गरी कार्ययोजना मिलाउनु उपयुक्त हुने देखिन्छ। वर्षासँगै केही स्थानमा चट्याङ र असिना खस्ने सम्भावनासमेत रहेकाले कृषि बाली जोगाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

त्यस्तै, मनसुनपछिको यो समय पदयात्रा (ट्रेकिङ) र पर्यटकीय भ्रमणको मुख्य सिजन भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।

उच्च हिमाली भेगमा हिमपात र पहाडी भूभागमा पहिरोको जोखिम रहने भएकाले यात्रामा रहेका वा जाने तयारी गरिरहेका पर्यटक तथा यात्रुहरूलाई नियमित रूपमा जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचना अनुसार मात्र आफ्नो यात्राको तालिका तय गर्न अपिल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *