तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर ध्वस्त

डिसी नेपाल
६ कार्तिक २०८३ ६:४७
412
Shares

काठमाडौं। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा बिहीबार राति गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण ३०० भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका छन्।

चीन भूकम्प नेटवर्क सेन्टर (सीइएनसी) तथा स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार तिब्बतको नाग्छु  सहरस्थित बाकेन  काउन्टीलाई केन्द्रविन्दु बनाएर बिहीबार राति १० बजेर ३३ मिनेट जाँदा ७.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु जमिनभन्दा करिब १० किलोमिटर गहिराइमा रहेको थियो।

विपत्का कारण घाइते भएका ३२ जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेको र बाँकी २१ जना सामान्य घाइते भएको अधिकारीहरूले जनाएका छन्। भूकम्पको कडा धक्कापछि सो क्षेत्रमा टेलिफोन, सञ्चार तथा विद्युत् सेवाहरू अवरुद्ध भएका छन्।

चीन सरकारले भूकम्पलगत्तै लेभल-टु आपत्कालीन उद्धार कार्यविधि लागू गरी प्रभावित क्षेत्रमा व्यापक राहत तथा उद्धार टोली परिचालन गरेको छ। उद्धारका लागि ३०० भन्दा बढी सुरक्षाकर्मीका साथै ३४७ जना अग्नि तथा उद्धार टोलीका जनशक्ति खटाइएको छ।

भूकम्पका कारण पुगेको भौतिक क्षति र अन्य क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको तथा राहत सामग्री पुर्‍याउने काम तीव्र पारिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *