नेविसंघको तदर्थ कार्यसमिति गठन, अध्यक्षमा राजीव ढुंगाना नियुक्त
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरेका छन्। सभापति देउवाले अध्यक्षमा ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई नियुक्त गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको गत फागुन १ गते बसेको बैठकको निर्णय अनुसार कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेविसंघको तदर्थ कार्यसमितिमा सभापति देउवाले एक अध्यक्ष र दुई महामन्त्री नियुक्त गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मुख्य सचिव पौडेलका अनुसार तदर्थ कार्यसमितिले अबको ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्नेछ। यसैगरी आगामी १२ औं अधिवेशनसम्म नेविसंघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउने छ भने तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
मुख्य सचिव पौडेलका अनुसार यस अघि कायम रहेको नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment