झुक्किएर ग्रुपमा फोटो शेयर भएपछि सुरु भएको अपराधको सिलसिला यहाँसम्म पुग्यो

डिसी नेपाल
१५ फागुन २०७६ १४:०५

काठमाडौं। एक व्यक्तिका बाल्यकालका साथीकी गर्लफ्रेण्डको निजी फोटो झुक्किएर एउटा ग्रुपमा शेयर भयो । त्यसपछि ग्रुपका एक व्यक्तिले यो फोटो डिलिट गर्नको लागि १ करोड रुपैयाँ मागे । ती व्यक्तिसँग यति धेरै रकम थिएन । ब्ल्याकमेलको शिकार भएपछि ती व्यक्तिले पनि ४ जना बालबालिकालाई अपहरण गर्ने योजना बनाए । जब उनी एक बच्चालाई विवाह मण्डपबाटै अपहरण गर्न पुगे, पुलिसले उनीसहित सबैलाई त्यहीँबाटै पक्राउ गर्यो । सो सनसनीखेज घटना भारतको राजधानी दिल्लीको हो ।

आज तकको समाचार अनुसार दिल्लीको पश्चिम राजौरी गार्डेन थानाको पुलिसले ६ वर्षका बालकको अपहरणको योजना बनिरहेको घटना सार्वजनिक गरेको छ । पुलिसले विवाहको मण्डपबाट ३ जना अपहरणकारीसहित ४ जनालाई गिरफ्तार गरेको छ । अपहरण गर्न लागिएका ६ वर्षका बालक दीपांशु १ कक्षामा पढ्दै छन् । उनी मंगलबार आफ्ना मामाको विवाहमा सहभागी हुन यमुनापारबाट मातापितासँग नवादा आएका थिए ।

उनको घरअगाडि बस्ने र उनीसँग खेल्ने पंकज अंकल नै उनलाई अपहरण गर्नको लागि बिहेमा आएका थिए । उनीसहित ३ जनालाई पुलिसले बिहेको मण्डपबाटै गिरफ्तार गरेको हो । अर्का एक जनालाई पहाडगंजबाट पक्राउ गरेको हो । चौथो व्यक्ति अपहरणको योजनाका सूत्रधार भएको बताइएको छ । पुलिसका अनुसार ट्याक्सी ड्राइभरले दिएको सूचनाको आधारमा पुलिसले सर्भिलान्स, नम्बरको लोकेशन, फेसबुक र ह्याट्सएपको सहयोगमा पुलिले जानकारी संकलन गरेको थियो र सामाजिक संजालबाट प्राप्त फोटोको सहयोगमा अपहरणकारी पक्राउ गर्न सकियो ।

सोधपुछका क्रममा थाहा भएअनुसार पंकजका बाल्यकालका साथी प्रणवको गर्लफ्रेण्डसँगको फोटो ग्रुपमा झुक्किएर शेयर भएको थियो । ग्रुपका एक व्यक्तिले यो फोटो डाउनलोड गरेर राखे र यसलाई डिलिट गर्नको लागि १ करोड रुपैयाँ मागे । त्यही १ करोड रुपैयाँ जम्मा गर्नको लागि प्रणवले ४ बालबालिकाको अपहरण गरी कम्तीमा ३०–३० लाख रुपैयाँ फिरौती माग्ने योजना बनाए । यही योजनाअनुसार बालक अपहरण गर्न पुगेका उनीहरु पक्राउ परेका हुन् । पुलिसले ब्ल्याकमेलरको पनि खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *