अमेरिकाले इरानमाथि अहिलेसम्मकै ठूलो ‘आर्थिक आक्रमण’ गर्दै
काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानमाथि अहिलेसम्मकै ठूलो ‘आर्थिक आक्रमण’ गर्न लागेको बताएका छन्।
स्कट बेसेन्टले सोमबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दाबी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति समाप्त पारिदिएको र अब आर्थिक मोर्चामा ठूलो अभियान सुरु हुने बताएका छन्।
अर्थमन्त्री बेसेन्टले लेखेका छन्, “राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्तिलाई ध्वस्त पारिदिनुभएको छ, उनीहरूको करिब १०० प्रतिशत सैन्य कारखानाहरू नष्ट गरिदिनुभएको छ र उनीहरूको आणविक (न्युक्लियर) कार्यक्रम समाप्त पारिदिनुभएको छ।”
“अब हामी अन्तिम चरणमा पुग्दै छौँ। बिहान हुनासाथ आर्थिक मोर्चामा एउटा ठूलो अभियान सुरु हुनेछ— जुन कुनै पनि विरोधीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक आक्रमण हुनेछ।”
उनी अगाडि लेख्छन्, “इरानी शासनले सुरक्षाको ग्यारेन्टीका नाममा धम्की र दबाबका सहारामा आफूलाई टिकाइराखेको थियो। उसलाई विश्वास थियो कि यदि कसैले उविरुद्ध कारबाही गर्छ भने उसले जवाफी हमला अवश्य गर्नेछ र अमेरिकाको कारबाहीलाई वार्ताका माध्यमबाट रोक्न सकिनेछ। राष्ट्रपति ट्रम्पको आगमनपछि अब त्यो दौर समाप्त भएको छ। इरानको विरोध गर्न डराउनेहरूले अमेरिकालाई चुनौती दिनुको मूल्यलाई कम आँकलन गर्नु हुँदैन।”
बेसेन्टले थप लेखेका छन्, “राष्ट्रपतिले यस्तो स्थिति सिर्जना गरिदिनुभएको छ जहाँ हरेक निकाय, हरेक अधिकार र ती सबै कदमहरूको प्रयोग गर्न सकियोस्, जसका बारेमा धेरै मानिसहरूले सोचेका थिए कि हामी ती कहिल्यै अपनाउने छैनौँ। हाम्रो लक्ष्य त्यस तानाशाही सरकारलाई सहारा दिने हरेक आर्थिक बाटो बन्द गर्नु हो, जबसम्म इरानी शासन पूर्ण रूपमा एक्लो हुँदैन।”
यद्यपि, अमेरिकी अर्थमन्त्री बेसेन्टले आफ्नो यस एक्स पोस्टमा अमेरिकाले इरानविरुद्ध अब कस्ता ठोस कदमहरू चाल्न गइरहेको छ भन्नेबारे विस्तृत जानकारी भने दिएका छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment