तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

डिसी नेपाल
१६ फागुन २०७६ ७:४०

हेटाैंडा। जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित रु ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए। प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए।

वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो। आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *