प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरेको मिर्गौलाले पनि थाल्यो काम

डिसी नेपाल
२१ फागुन २०७६ १६:४४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले सफल मिर्गाैला प्रत्यारोपण गरेको हो। मिर्गौला प्रत्यारोपणपछि सो प्रत्यारोपित मिर्गौलाले पनि काम थालिसकेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन्।

अस्पतालले बुधबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्बन्धि जानकारी दिएको छ। अस्पतालका अनुसार प्रत्यारोपण सफल भएको छ। प्रधानमन्त्रीलाई हाल प्रत्यारोपण कक्षमै राखि उपचार गरिने अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धि सबै सूचांकहरु सकरात्मक रहेका छन्।

उता मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सन्तोशजनक रहेको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया