आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

डिसी नेपाल
२३ फागुन २०७६ ८:५८

बलेवा। समथर जमिन र बाक्लो बस्ती। खानेपानीको सधैँ चरम अभाव। नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था।

हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन्। छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ।

खानेपानीको सास्ती खेप्दै आएका सो स्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ। कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी त्यहाँ पानी पुर्याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिफ्टिङ प्रविधि भित्राइएपछि अब भने घरघरमै पानी आउने भएको छ। चैत्रभित्रै त्यहाँ घरघरमा कालीकिनारको पानी पुग्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए। आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएकोे गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताए।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो। कालीगण्डकी तिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी तान्नेछ। मुहान र पाइपलाइनको मध्यभागमा दुई वटा मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पुर्याइएको अध्यक्ष खत्रीले बताए।

यो योजना निर्माण गर्नका लागि झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ। सुरुआती लागत भने रु १० करोड माथिको थियो। रु ६ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो।

विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो। उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्नेगरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले जानकारी दिए।

कूल लागतको ७० प्रतिशत सरकारको, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो। योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन विछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ।

योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेको संस्थाले जनाएको छ। विद्युत्को परीक्षण र प्रसारको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ।

“एक घर एक धारा चौबिसैँ घण्टा पानी आउँछ” उनले भने “२० बर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना सो स्थानका नौवटै र पैयुँपाटाका ८ र ९ वडामा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड ८ लिटर पानी तान्ने छ।

यसभन्दा पहिले धारापानीबाट २ दशमलव ५ र धापेखोलाको पानी ३ लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ। तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ । उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा भल्भ च्याम्बर निर्माण भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *