क्यामेराको लेन्सबाट दिल्लीको हिंसा, ती खास तस्वीर जसले मुटु हल्लाउँछन्

डिसी नेपाल
२७ फागुन २०७६ १३:०५

नयाँ दिल्ली। २३ फेब्रुअरीदेखि ४ दिनसम्म दिल्लीको हावामा खरानीको दुर्गन्ध थियो । १९८४ पछि पहिलो पटक भारतको राजधानी आगोमा जलेर खरानी भएको थियो । कालो खरानीले ढाकिएको देखिएका थिए घर, पसल, सामान र मानिसहरुका आशाहरु । माथिको तस्वीरमा देखिएको छ खजुरी खासस्थित जलेको फातिमा मस्जिद जसलाई २४ फेब्रुअरीमा भीडले जलाइदिएको थियो । त्यसको झ्यालबाट शोकाकुल आँखाका साथ १९ वर्षका युवकले हेरिरहेका छन् ।

२५ फेब्रुअरीमा चाँदपुरको यो घरमा भीडले आगो लगाइदियो । यो घरमा बस्ने परिवार छतको बाटोबाट भागेर आफ्नो ज्यान जोगाउन सफल रहे । चाँदपुरका निवासीका अनुसार केही घरबाट हामी सबै जल्नेवाला छौं भन्ने आवाज आइरहेको थियो । आगोको आँच तिकै तेज लागिरहेको थियो । चाँदपुरबाट केही युवक पुलिस स्टेशन गए तर कुनै सहयोग पाइएन । हिंसा रोकिएपछि जब यो घरका सदस्य फर्किए यहाँ बर्बादीको कालो तस्वीर मात्र बाँकी थियो ।

‘मसँग केवल १० रुपियाँ र लगाएका कपडा मात्र बाँकी छन् ।’ यसो भन्दै हिंसा पीडित २० वर्षका यी युवक आफ्नी रोइरहेकी आमालाई सम्हाल्छन् । खजुरी खासमा बस्ने यी आमाछोराको घर, सामान, पैसा, गहना, पहिचान पत्र लगायत सबै जलिसकेका छन् । युवकका अनुसार उनकी आमा अहिले पनि सपनामा मानिसहरु आफूलाई मार्न र जलाउन आइरहेको देखेर तर्सिन्छिन् ।

२३ फेब्रुअरीदेखि ५ दिनसम्म ५ वर्षका यी बालक केही बोलेनन् । डराइरहेका यी बालक शान्त भए । खजुरी खासमा बस्ने यी बालकको आवाज यति दिनसम्म कसैले सुनेनन् । मागेका कपडा लगाएर यी बालक जब पहिलो पटक बोले उनको मुखबाट केवल यत्ति निस्कियो – मलाई डर लागिरहेको छ ।

मुस्तफाबादमा जब हिंस्रक भीड फर्किएर गयो, १२ कक्षा पढ्ने २ युवक र एक वृद्धले नजिकै रहेको निर्माणाधीन भवनबाट बाँसको मुठो बोकेर ल्याए । यी बाँसले गल्लीमा प्रवेश गर्ने ठाउँ बन्द गरिदिए । बाँसलाई गल्लीको प्रवेशद्वारमा बलियो गरी बाँधे । सोध्दा उनीहरुले भने – हामी केवल सुरक्षित महसुस गर्न चाहन्थ्यौं ।

शिव विहारको गल्ली नम्बर ६ मा मदिना मस्जिदको छेउमा रहेको तीन तले घरमा अब केही बचेको छैन । केवल डर मात्र छ । यो घरबाट बालबालिकासमेत परिवार त भागे तर दुई वृद्ध दम्पती यहीँ छुटे । जसले ४ घण्टासम्म हिंसाको सामना गरे । पछि छिमेकीहरुले जब भीडलाई भगाए त्यसपछि बल्ल यी दुई वृद्ध यहाँबाट भाग्न पाए ।

ब्रिजपुरीस्थित यो घरलाई ४० वर्षका व्यक्तिले २५ लाखमा बनाएका थिए । हालै घरमा डेढ लाख खर्च गरेर पेन्टिङ गराइएको थियो । नयाँ सोफा पनि लगाएका थिए तर हिंसापछि घरको रंग उड्यो । सोफा कहाँ छ थाहा हुन सकेको छैन । घरको तल गोदाममा राखिएका ४० लाखका व्यवसायिक सामान जलाइयो ।

२४ वर्षीया यी महिलाको घर, सामान सबथोक जल्यो । खजुरी खासमा बस्ने यी महिलाले हिंसाको क्रममा छतबाट भागेर आफ्नो ज्यान बचाएकी थिइन् । यी महिलासँग त पहिचान पत्र पनि बचेको छैन । यी महिलाका अनुसार ३०–४० परिवार चाँदपुरमा एक २५ वर्गयार्डको घरमा लुकेका थिए ।

उत्तर–पूर्वी दिल्लीका गल्लीहरुमा बनेका घर आपसमा जोडिएका छन् । यहाँ जो हिंस्रक भीड आएको थियो त्यो पूरा योजना बनाएर आएको थियो । केही घरबाट भीडले ग्यास सिलिण्डर निकाल्यो र तिनीहरुलाई सिभरेज र ड्रेनेज लाइनमा राखेर जलाइदियो । घरका बिजुली लाइन काटिदियो । त्यसपछि यहाँ दुवै समुदायका घर जल्न सुरु भए । हरेक घरको एक अलग कहानी छ ।

इण्डिया टुडेबाट अनुवादित, शब्दः सोनल आचार्जी र श्वेता पुंज, सबै तस्वीरः बन्दीप सिंह




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *