श्रीमतीको हत्या आरोपमा पक्राउ

डिसी नेपाल
२९ फागुन २०७६ २२:१०

काठमाडौं। नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिए।

“श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कुटपिट गरी हत्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त शव भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो”, उनले भने। मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो । पक्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बर्ताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *