कोरोना भइरसको त्रासका बीच डराइ-डराइ सार्वजनिक सवारीमा कोचिन्छन् यात्रु

डिसी नेपाल
४ चैत २०७६ १२:२९

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भइसकेको छैन। विदेशमा बस्ने केही नेपालीहरु संक्रमित भएका भएका भए पनि नेपालमै भने यसको संक्रमण देखिएको छैन।

छिमेकी देश चीनबाट सुरु भएको संक्रमण अर्को छिमेकी भारतमा समेत फैलिन थालेपछि नेपालमा पनि थप सतर्कता अपनाइएको छ। यद्यपि नेपालमा सार्वजनिक सवारी साधनहरु भने निर्वाध चलिरहेका छन्।

अत्याधिक भीडभाड हुने राजधानी काठमाडौंका सडकमा गुड्ने सार्वजनिक सवारी साधनबाट कोरोना भाइरस तीब्र रुपमा फैलिने खतरा हुन्छ। सरकारले कारोना भाइरसबाट बच्न उच्च सकर्तकता अपनाउन आग्रह गरेपनि सर्वसाधारण नागरिकसँग सार्वजनिक यातायात प्रयोग गर्नुको विकल्प छैन।

त्यसमा पनि जनचेतनाको अभावका कारण सार्वजनिक यातायतमा यात्रा गर्ने सर्वसाधारणले मास्कको समेत प्रयोग गरेको देखिँदैन। अझ मास्कको कालोबजारीले गर्दा मास्क सहज रुपमा नपाइएको उनीहरुको गुनासो छ।

अत्याधिक भीडभाड हुने राजधानी काठमाडौंका सडकमा गुड्ने सार्वजनिक सवारी साधनबाट कोरोना भाइरस तीब्र रुपमा फैलिने खतरा हुन्छ। सरकारले कारोना भाइरसबाट बच्न उच्च सकर्तकता अपनाउन आग्रह गरेपनि सर्वसाधारण नागरिकसँग सार्वजनिक यातायात प्रयोग गर्नुको विकल्प छैन।

विश्वलाई आफ्नो चपेटामा लिइरहेको कोरोना भाइरसबाट बच्न सर्वसाधारणले कस्तो तयारी गरेका छन्? यो चासोको विषय हो। सार्वजनिक यातायातमा यात्रा गर्ने केही सर्वसाधारणलाई कोरोना भाइरसका विषयमा कत्तिको जानकार हुनुहुन्छ भन्ने डिसी नेपालको प्रश्नमा उनीहरुले आफू कोरोनाप्रति सचेत रहेको बताएका छन्।

उनीहरुले आफूहरु सचेत भएको बताएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश यात्रीले मास्कसमेत प्रयोग गरिएको देखिएन। तर उनीहरुले सरसफाइमा ध्यान दिन थालेको भने सुनाए।

‘पहिला बाहिरबाट आएपछि हात धुनुपर्छ भन्ने सोचाइ आउँदैन थियो, अहिले पटक पटक हात नधोए चित्तै बुझ्दैन,’ सार्वजनिक यातायातमा यात्रा गरिहेकी कमला घिमिरेले भनिन्।

छोराछोरीको स्वास्थ्यमा विशेष ध्यान दिएको बताउने कमलाले पछिल्लो समय छोराछोरीलाई स्कुलमा बाहिरबाट लगेको खाना खान दिन छोडेकी छन्। भन्छिन्, ‘बाहिरको खाना छुटाइ दिँए, अहिले घरबाटै टिफिन पठाउने गरेकी छु।’

कलंकीबाट कौशलटार जाने बसका ६२ वर्षीया लक्ष्मी शर्मा पनि थिइन्। उनले कपडाको मास्क लगाएकी थिइन्। उनले यसअघि आफूले कहिल्यै मास्क प्रयोग नगरेको तर कोरोना भाइरसको त्रास बढेपछि मास्क प्रयोग गर्न थालेको बताइन्। ‘यो भन्दा अगाडि माक्स लगाउन लाज लाग्थ्यो, अब त लजाएर पनि के गर्नु झन् बुढाबुढीलाई चाँडै लाग्छ भन्छन,’ उनले भनिन्।

सरकारले कोरोना भाइरसबाट जोगिन भिड भाडबाट टाढा रहन आग्रह गरिरहँदा सवारी साधनको कोचाकोचमा चेपिएकी रुक्मिणी आर्यालको कथा बेग्लै छ। कलङ्कीमा पसल गरेर जीविका चलाइरहेकी आर्यालले पसलमा ग्राहक आउनै छोडेको गुनासो गरिन्। रहर नहुँदा पनि पसल चलाउनु पर्ने बाध्यता रहेको उनको गुनासो छ।

‘सामान लिन हिँडेकी हुँ, न सामान पाइन्छ, न ग्राहक नै आउँछन,’ उनले भनिन्, ‘पछिल्लो एक हप्तादेखि ५०० रुपयाँको व्यपार पनि भएको छैन। कोरोना आउँछ भन्दा पनि कसरी निर्वाह गर्ने भन्ने चिन्ता लाग्न थालेको छ। व्यापार नभएपनि महिनमा ४० हजार तिर्नुपर्छ, यस्तो महामारीको हल्लामा पसल खोलेर बस्न कहाँ मन लाग्छ र!’

कतिपयले भने व्यापारीले कालोबजारी गरेका कारण अत्यावश्यक सामाग्री नपाएको गुनासो गरेका छन्। ‘यस्तो समयमा महंगी घटाउनु पर्नेमा झन् बढेको छ। ग्यासलाई २५ सय भन्न थाले। त्यसमा पनि ग्यास व्यापारीले पसल नै खोल्न छाडे,’ एक सार्वधारणले भने।

‘सरकारको सहयोग चाहिने समय यही हो। सरकारले मुखले बच्नु भन्छ, तर जनताले अनुभूति हुने गरी केही पनि गरेको देखिएन,’ एक सहकारीमा कार्यरत मालती राईले भनिन्, ‘अहिले नै कार्यालय बन्द गर्ने कुरा उचित होइन,  कार्यालय जानु छ, काम नगरी बस्न घरको आर्थिक स्थिति पनि राम्रो हुनुपर्यो नी! यस्तो अवस्थामा सरकारले केही पनि गरेको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.