आगलागीबाट चार घर जलेर नष्ट

डिसी नेपाल
५ चैत २०७६ २०:०२

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो ।

आगलागीमा झनबहादुरको अनुमानित रु आठ लाख, लोकेन्द्रको रु पाँच लाख, जोखेको रु पाँच लाख र सीतादेवीको करीब रु चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विस्थापितलाई आज नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ ।

आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताए । सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार रु तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेको जनाइएको छ ।

स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.