आवश्यक स्वास्थ्य सामग्री व्यवस्था हुँदैछ : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
१८ चैत २०७६ १९:३१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरससँग लड्नका लागि पहिलो घेरमा रहनु हुने चिकित्सकका लागि चाहिने थप स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको बताएका छन् ।

कोरोना भाइरस नियन्त्रण तथा उपचारका साथै आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार प्रदेशका नौवटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सदरमुकामस्थित स्थानीय तहका प्रमुख, अस्पतालका मेडिकल ‘सुपरिटेन्डेन्ट’सँग भिडियोमार्फत गरिएको बैठकमा मुख्यमन्त्रीले चिकित्सकका लागि चाहिने केही सामग्री संघीय सरकारसँगको समन्वयमा आइसकेकोमा थप आवश्यक सामग्री ल्याउने काम अघि बढाइएको जानकारी दिए ।

कोरोनासँग लड्नका लागि पहिलो घेरामा रहने स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्ने विषय अहिले महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सामग्रीको व्यवस्थापन गरेर चिकित्सकको भविष्य सुरक्षित बनाउनमा प्रदेश सरकार सचेत रहेको बताए। स्वास्थ्यकर्मीलाई आग्रह गर्दै उनले भने, ‘तपाईँहरु पहिलो खतरामा हुनुहुन्छ, तर तपाईँहरु बिना कोही पनि नबाँच्ने हुँदा यस्तो गम्भीर अवस्थालाई हामी सबैले बुझेर काम गर्न जरुरी छ ।’

मुख्यमन्त्रीहरु सहभागी बैठकमा कोरोनासँग जुध्न सबै प्रदेशमा प्रयोगशाला (ल्याब)को स्थापना गर्नुपर्ने प्रस्ताव आफूले नै गरेको स्मरण गराउँदै उनले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको स्वाब परीक्षणसमेत गर्नका लागि ल्याब स्थापना गर्न लागिएको जानकारी दिए।

कोरोना रोगको रोकथामका लागि हरेक वडा र टोलस्तरमा टास्कफोर्स (कार्यदल) गठन गरेर उक्त कार्यदलमार्फत नेपाल भित्रिएकाको अभिलेख राख्ने, उनीहरुले गरिरहेको गतिविधिको नियमितरुपमा निगरानी गर्ने र दैनिक ज्यालादारीमा काम गरी खाने व्यक्तिको पनि अभिलेख राख्न जरुरी रहेको बताए । लकडाउनको अहिलेको समयमा जिल्लाहरुमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था सहज बनाउन र कहीँकतै कालोबजारी हुन नदिनेतर्फ सचेत हुनु पनि उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *