सुदूरपश्चिमका विभिन्न स्थानमा १,७०७ जना क्वारेन्टाइनमा

डिसी नेपाल
२० चैत २०७६ ११:२२

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार ९७३ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ।

निर्देशनालयले दिएको जानकारीअनुसार कैलालीमा एक हजार २० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले ३३७ लाई राखिएको छ।

यस्तै कञ्चनपुरमा ३०१ श्यया स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ श्ययामा ३९, डोटीमा ५१७ श्ययामा ३९८, अछाममा १७१ श्ययामा ६५ जना राखिएको जनाइएको छ।

यस्तै बाजुरामा ४७० श्ययामध्ये ५८, दार्चुलामा ३३१ श्ययामध्ये १६८, बैतडीमा ७०२ श्ययामा ३१० र बझाङमा २९८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

यस्तै प्रदेशमा २४९ श्ययाको आइसोलेसन स्थापना गरिएको छ। कोरोना सङ्क्रमणको आशङ्कामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ।

प्रदेशमा हालसम्म शङ्कास्पद ४७ बिरामीको स्वाब सङ्कलन गरिएको छ। सङ्कलन गरिएको ४७ नमूनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ। ३१ रिपोर्टमध्ये एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ।

नेकपा प्रदेश सदस्यलले कोष बढाउँदै

सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३० प्रदेशसभा सदस्यले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई आफ्नो १५ दिनको पारिश्रमिक दिने घोषणा गरेका छन्।

प्रमुख सचेतक तारा लामा तामाङका अनुसार ३० जनाको १५ दिनको पारिश्रमिक रकम रु आठ लाख ५० हजारभन्दा बढी रकम कोषमा जम्मा गरिने घोषणा गरिएको हो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सो कोषमा सांसदको रकम जम्मा गरिने छ।

नेकपाका प्रदेशसभामा ३९ सांसद रहेकामा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेका छन्।

१२८ सवारी नियन्त्रणमा

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन उल्लङ्घन गरी चलाइएका १२८ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लङ्घन गरी चलाइएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

दिनभर घरमा बसेर साँझ धेरैले लकडाउन उल्लङ्घन गर्ने गरेको पाइएपछि पछिल्लो समय कैलाली प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *