लकडाउनको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी मजदुर

डिसी नेपाल
२६ चैत २०७६ १०:३५

नुवाकोट। नुवाकोटमा बसेर दैनिक ज्यालादारी काम गर्दै आएको एक समूहले आफूहरु अलपत्र परेको गुनासो गरेका छ।
कोरोचा भाइरसबाट बच्न सरकारले लडकाउनको अवधि थप गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर लकडाउनको प्रत्यक्ष मारमा परेका छन्।

कोरोनाको त्रासमा पनि ज्यामी काम गर्दै गरेका धादिङका चिमबहादुर बिक आफूलाई त्रास भएता पनि काम गर्न बाध्य भएको बताए। उनले भने, ‘काम गर्न डर त छ नि यसरी समूहमा काम गर्नु पर्दछ। के गर्नु बाल बच्चा भोकै राख्न पनि त सकिन्न।’

सोही समूहमा रहेका रौतहटका रामबाबु यादवको पनि भनाइ समस्या पनि उस्तै छ। उनले भने’ ‘गाडी घर जानलाई गाडी छैन। यस्तो वितको बेलामा परिवारबाट यति टाढा बस्न त मन छैन। तर नबसेर पनि उपाए छैन।’

सरकारले घरबाट बाहिर ननिस्कन आदेश दिँदै गर्दा दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने मजदुरुको अवस्था भने दयनीय छ । लकडाउनका कारण काम नै नपाइने भएपछि उनीहरु झन समस्यामा परेका हुन्।

विराटनगरका रामप्रवेश भन्छन्, ‘हिँडेर जान त सकिन्न। हामीलाई काम गर्न आपत्ति छैन। तर खै आज पो काम पाइयो। यो लकडाउने काम नै पाइँदैन। के खाने कसरी बस्ने धेरै समस्या छ।’

कोरोनाको त्रासमा काम गर्न चाहेर पनि काम नपाएर अलपत्र मजदुर मुलुकका विभिन्न ठाउँमा छन्।

सिंहदरबारबाट दिएको आदेश जोक जस्तै भएको भन्दै सोही समूहकी नुवाकोट रातमाटे घर भएकी लिला बिक भन्छिन्, ‘घरमा स–साना नानी बाबुको हेरचाह गरेर बस्न मन नभएको होइन। यस्तो समयमा बालबच्चा छोड्ने रहर कहाँ हुन्छ र! हाम्रो आवाज कसैले सुन्दैन। नुवाकोटमा त मिडिया छ छैन पनि थाहा छैन। सिंहदरबारमा बसेर घर भित्रै बस्नुस भन्नू हासोको कुरा लाग्छ मलाइ, त्यही घरको माटो ढुङ्गा चपाएर खानु, यसै मर्ने उसै मर्ने भोकले मर्नु भन्दा त रोगले मर्नु बेस होइन र?’

चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि सरकारले थप सतर्कता अपनाउँदै लकडाउनको अवधि थप गरेको छ। कोरोनाबाट बच्ने मुख्य उपाय लकडाउन नै भएपछि सरकारले लकडाउनको अवधि लम्ब्याएको हो। लकडाउनमा सरकारले कडाइ गरेसँगै दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने मजदुर भने प्रत्यक्ष मारमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *