नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
६ वैशाख २०७७ ९:०५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

साथै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा समेत छलफल हुने बताइएको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक दोस्रो पटक बस्न लागेको हो । पदाधिकारी बैठक यसअघि चैत २५ गते पहिलोपटक बसेको थियो।

काँग्रेस पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव रहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रूपमा उपस्थित हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.