आज बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना

डिसी नेपाल
९ वैशाख २०७७ ९:१९

काठमाडौँ । स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो।

उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा र पश्चिमी तराईका एक–दुई स्थानमा हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ।

बिहीबार पश्चिमका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केही एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा एक दशमलव छ मिलिमिटर वर्षा भएको छ।

यस्तै पोखरामा दुई दशमलव दुई, धरानमा दुई दशमलव तीन, जोमसोममा एक दशमलव पाँच र जिरीमा दुई मिलिमिटर वर्षा भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.