परदेशमा पसिना बगाएर मातृभूमिको सेवा गर्ने श्रमिकहरूको समस्याप्रति सरकार संवेदनशील बन्नुपर्छ

डिसी नेपाल
२६ वैशाख २०७७ १४:१८

काठमाडौँ । पूर्व श्रम रोजगार मन्त्री गोकर्ण विष्टले कोरोना भाइरस (कोभिड–१९) कारणले विदेशमा अफ्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको समस्याप्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले विभिन्न कारणले विदेशमा समस्यामा परेका नेपालीहरुको समस्याप्रति सरकार सम्वेदनशिल बन्नुपर्ने भन्दै तत्काल उद्धार गर्न माग गरेका हुन् ।

कोरोना भाइरसका कारण विदेशमा खासगरी स्वदेश फर्कने तयारी गरिरहेका, गैरकानुनी, आममाफीमा सहभागी भएका, भिसाको म्याद सकिएका र रोजगारी गुमाएकाहरु समस्यामा परेको भन्दै उनीहरुको उद्धार र राहातका लागि सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका छन्।

विष्टले खानेबस्ने समस्याको कारण रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपालीहरुको जीवन अत्यन्त जोखिममा परेको भन्दै उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका बताएका छन् । उनले सहारा खोजिरहेका नेपाली श्रमिकलाई उनीहरुको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याएसम्म खानेबस्ने कुराको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

पूर्वमन्त्री विष्टले शुक्रवार फेसबुकमा लेख्दै भनेका छन्–‘परदेशमा रगत पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन्, उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खानेबस्ने कुराको व्यवस्था सरकारले गर्नुपर्छ ।’

उनले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जवर्जस्ती देश छोड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेकाले नेपाली श्रमिकहरु अत्यन्तै समस्यामा परेको जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *