नेपालविरुद्ध भारतीय सेनापतिको आपत्तिजनक अभिव्यक्ति
काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरभनेले नेपाललाई अरु कसैले उचालिरहेको भन्दै नेपाल र नेपालीप्रति अपमानजनक र आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
मनोहर पार्रिकर इस्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालाइसिसद्वार मे १५ मा दिल्लीमा आयोजित एउटा छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो कार्यक्रममा वेभिनारका माध्यमबाट “कोभिड एण्ड इण्डियन आर्मी, रेस्पोन्स एण्ड वियोण्ड” विषयमा बोलिसकेपछिको प्रश्न उत्तर कार्यक्रममा उनले नेपाल र नेपालीको अपमान गर्ने गरी त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले उत्तरी छिमेकी मुलुक चीनको नाम नलिइकन तर चीनले नै उचालेको अर्थ लाग्ने गरी नेपाललाई उकासेका कारण लिपुलेकका विषयमा भारतका विरुद्ध नेपालले विरोध गरिरहेको बताएका थिए । कार्यक्रममा उनले नेपालका राजदूतले काली नदीभन्दा पूर्वको भाग नेपालको हो भनेर भारतलाई भनेको र भारतले काली नदीभन्दा पश्चिममा बाटो बनाएको जिकिर गरेका थिए । भारतीय संचारमाध्यम इण्डियन एक्सप्रेसको डिजिटल अंकमा प्रकाशित समाचारअनुसार, भारतीय सेनापतिले भनेका छन्, “वास्तवमा नेपालका राजदूतले भनेको काली नदिीको पूर्वी भाग उनीहरुको हो । त्यसैले त्यसमा कुनै विवाद छैन । हामीले बनाएको बाटो काली नदीको पश्चिममा हो । त्यसैले नेपालले किन विरोध गरिरहेको छ मैंले बुझेको छैन ।”
उनले लिपुलेकमा कुनै विरोधाभास नभएको दावी गर्दै बर्षौदेखि नेपाल र नेपालीले उठाउंदै आएको सीमा मिचिएको विषयलाई पूरै वेवास्ता गरिदिएका छन् । दुई मुलुकले औपचारिकरुपमा कालापानीमा सीमा विवाद स्वीकारिसकेको अवस्थामा भारतीय सेनापतिले नेपालविरुद्ध दिएको अभिव्यक्तिले भारतीयको असहिष्णु व्यवहार झन् बढ्ने संकेत गरेको छ ।
उनले कार्यक्रममा भनेका छन्,“लिपुलेकमा कुनै विरोधाभाष छैन र पहिला कहिल्यै समस्या पनि थिएन, त्यसैले अरुको इशारा वा बहकाउमा लागेर नेपालीले यो इस्यु उठाएको विश्वास गर्ने आधार छ ।”
परम्परागत चलनअनुसार, नेपाली सेनाका समेत मानार्थ महारथी रहने भारतीय सेनापतिको यो आक्षेपले नेपाल र नेपालीको मन कुड्याउन थप मद्धत पुगेको छ । स्मरणीय छ, उनी बीसौं हजार गोर्खा फौजका सेनापति हुन् । र , भारतीय गोर्खा फौजलाई अधिंकाशरुपले हरदम गोलीबारी भइरहने भारत पाकिस्तान सीमामा खटाइने गरिएको छ । भारतको सीमा सुरक्षाका लागि हजारौं नेपाली युवाहरुले गोर्खा सैनिकका हैसियतमा ज्यान गुमाइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment