लक्षण नै नदेखिएर निको भए बाँकेका २१ संक्रमित
काठमाडौं । भेरी अस्पताल बाँकेमा उपचाररत २१ कोरोना संक्रमित निको भएपछि खुसी हुँदै घर गए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कारोना मुक्त भएका हुन ।
भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश बहादुर थापाका अनुसार केही पनि लक्षण नदेखिएका उनीहरुको पछिल्लो समय गरिएको परीक्षण नेगेटिभ आएको थियो । बाँकेका पहिलो कोरोनाको संक्रमण देखिएका ६० वर्षिया पुरुषसँगै ७ वर्षिया बालिकाले पनि कोरोना जितेकी छन्।
डिसी नेपालसँग कुरा गर्दै निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. थापाले भने, ‘कोरोना संक्रमितहरुमा लक्षण खासै केही देखिएन। हामीले उहाँहरुको रेखदेखमा कुनै कमि पनि गरेनौं।’ डा. थापाले भने, ‘लक्षण नदेखिएका कारण उहाँहरुलाई त्यस्तो छुट्टै औषधी पनि चलाउनु परेन। ७ महिनाको गर्भवति महिला, ७ र ९ वर्षका बालिका तथा ६० वर्षका पुरुष कसैलाई पनि कोरोनाले अन्य मुलुकमा देखाएको जस्तो लक्षण देखिएन।’
‘अहिले घर फर्किनेहरु सबै कोरोना मुक्त हुनुुहन्छ’, नि.मेसु डा थापाले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार १४ दिनमा पिसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो, फेरी हामीले २४ घण्टापछि पुनः परीक्षण गर्दा पनि उहाँहरुमा कोरोना नेगेटिभ आएपछि कोरोनाबाट मुक्त भएको भनेर डिस्चार्ज गरेका हौ।’
बाँकेमा वैशाख १९ गते पहिलो पटक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनलाई पोजेटिभ देखिएपछि गरिएको ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ बाट २ सय ८४ जनाको स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भयो। दुई जनाको दोस्रो परिक्षण पनि पोजिटिभ देखिएकोले आइसोलेसनमै रहेको भेरी अस्पताल निमित्त मेसु डा.थापाले बताए । ‘उहाँहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिएका छौं ।’ डा. थापाले बताए ।
हालसम्म बाँकेमा कोरोना देखिएका मध्ये १ जनाको मृत्यु भइसकेको छ। २१ जना आज कोरोना मुक्त भएका छन् भने बाँकीको जिल्लाका विभिन्न स्थानमा बनाइएका आइसोलेसनमा उपचार भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment