बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल स्वदेश ल्याउन माग
काठमाडौ। बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउनको लागि सरकारले ढिलासुस्ती गरेको र उदासिनता देखाएको भन्दै अभिभावक तथा नागरिक समाजका अगुवाले गुनासो पोखेका छन्।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभिभावकहरुले यस्तो गुनासो पोखेका हुन्। दुई महिनादेखि नेपाली विद्यार्थीहरु लकडाउनका कारण उतै अड्किएको र उनीहरु जतिसक्दो चाँडो नेपाल आउन चाहिरहेका छन्। आफ्ना छोराछोरीहरुले जतिसक्दो चाँडो स्वदेश झिकाउन आफूहरुसँग विलौना गरेको अभिभावकहरुको गुनासो छ।
बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि अभिभावकहरुले नै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता सरकारी अधिकारीहरुसँग गरिसकेका छन्। तर, सरकारले भने सकारात्मक रहेको र छिट्टै ल्याउने भनेरमात्रै आश्वासन दिएको र कुनै कार्यान्वनय नगरेकोपनि अभिभावको गुनासो छ।
कार्यक्रममा बोल्दै अभिभावक विनोद रञ्जितले भने,‘मेरी छोरी बंगलादेशमा अध्ययनरत छिन्। मेरो जानकारीमा त्यहाँ साँढे ६ सय विद्यार्थी छन्। बंगलादेशका विभिन्न क्षेत्रमा गरेर त्यतिको संख्यामा विद्यार्थी छन्, ढाकामा मात्रै छैनन्। अर्को कुरा, अहिलेसम्म नेपाली विद्यार्थीहरु एक जनामापनि कोभिड १९ बाट संक्रमित छैनन्। भोलिको दिनमा भन्न सकिँदैन्। भोलि एक जनामा मात्रै पोजिटिभ भयो भने हाम्रो हालत कस्तो होला ? सरकारले चाँडै ल्याइदिओस्।’
उनले आफूहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटेको र विद्यार्थी ल्याउनको लागि आग्रह गरेको सुनाए।
अर्का अभिभावक मुकुन्द जोशीले पनि सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउन ढिलाई गर्न नहुने आग्रह गरे। उनले भने, ‘मेरो छोरा ढाकामा चिकित्सा शास्त्रमा पोष्ट ग्राजुएशन गरिरहेको छ। लकडाउनका कारण उतै अड्किएको छ। अहिले विद्यार्थीहरुले नेपाल ल्याईदिनुहोस भनेर जुन खालको आग्रह गरिरहेका छन्, सरकारले त्यसलाई सुन्नुपर्छ। उनीहरुले दुई महिनादेखि हामीसँग अनुनय विनय गरिरहेका छन्। बंगलोशमा रहेका नेपाली राजदूतसँगपनि उनीहरुले आग्रह गरेका छन्। अहिलेसम्म सबैतिरबाट आश्वासनमात्रै भेटियो । तर, तुरुन्तै उनीहरुलाई उद्धार गर्ने छाँटकाँट देखिएन।’
उनले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु आजसम्म कोही पनि संक्रमित नभएकोले तुरुन्तै उनीहरुलाई उद्धार गर्नुपर्ने आग्रह गरे। उनले थपे, ‘विद्यार्थीहरुले निरन्तर रुपमा फेशबुकमार्फत पनि सरकारलाई आफ्ना पीडा र मर्म सुनाइरहेका छन्। सरकारसँग तुरुन्तै उद्धार गरिदिन आग्रह गरेका छन्। मुख्य कुरा, सेप्टेम्बरसम्म बंगलादेशका सबै विश्विद्यालय बन्द गरिएका छन्। अन्य देशका विद्यार्थीहरुलाई ती देशका सरकारले लगिसकेका छन्। अहिले छात्रावासमा हाम्रा विद्यार्थीमात्रै छन्। छोरीहरुलाई झनै डर र त्रास छ। उनीहरु आतंकित छन्। हामीले सरकारसँग निरन्तर हाम्रा विद्यार्थीहरुलाई ल्याइदिन अनुरोध गरेका छौं। तर, सरकराले आश्वासमात्रै दिईरहेको छ । आज २ महिना बितिसक्यो । अहिलेकै अवस्थामा शिघ्र रुपमा उनीहरुलाई नेपाल ल्याइयोस्।’
त्यस्तै, अर्का अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले पनि सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि ढिलाई गर्न नहुने बताए। उनले भने, ‘आज यो पत्रकार सम्मेलनमा म पनि आउनुको कारण मेरो छोरा बंगलादेशमा पढ्दैछ । उसले बुवा कहिले हामी घर आउन पाउँछौं भनेर आग्रह गर्छ। यसले हामीलाई भावविह्ल बनाउँछ। बंगलादेशमा रहेका नेपालीको संख्या धेरै कम छ । अहिलेसम्म संक्रमण भएको अवस्था छैन। डरलाग्दो अवस्थामा त्यहाँ संक्रमितहरु बढिरहेका छन। त्यसैले अहिले नेपालीहरु संक्रमित नभएकै अवस्थामा उनीहरुलाई स्वदेश फर्काउनुपर्छ। किनकी अहिलेसम्म उनीहरु सुरक्षित अवस्थामा छन् । यही अवस्थामा उनीहरुलाई ल्याउन पाइयो भने राम्रो हुन्छ।’
कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् नागरिक समाजका अगुवा डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे।
उनले भने, ‘बंगलादेशमा रहेका विद्यार्थीहरुको अभिभावकहरुसँगै म पनि यो अभियानमा संलग्न छु। नागरिक अभियानको क्षेत्रमा काम गर्ने व्यक्ति भएको नाताले म आवद्ध छु। धेरै ठूलो संख्यामा नेपालीहरु विदेशमा अलपत्र परेका छन् । उनीहरु सुरक्षित रुपमा देश फर्किन पाउनुपर्छ । म आवाज उठाईरहेको छु । यस्तो बेलामा हामी चुप लागेर बस्न मिल्दैन्। बंगलादेशमा रहेका विद्यार्थीका अभिभावको पीडा सुन्यौं, त्यो एकदमै गम्भिर छ । अभिभावकले ती विद्यार्थीमाथि लाखौं लाख लगानी गर्नुभएको छ । मेडिकल शिक्षाको लागि त्यहाँ पठाउनुभएको छ । यो शिक्षा मुलुकको लागि अति आवश्यक छ । अहिलेको यो प्याण्डेमिकमा उनीहरु त फ्रन्टलाईन वारियर हो, पहिलो पक्तिको मेडिकल प्राेफेशन हो।’







डिसी नेपाल








Facebook Comment