स्वास्थ्य मन्त्री ढकाल किन बसे क्वारेन्टाइनमा ?

डिसी नेपाल
१३ जेठ २०७७ १८:५४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ५ दिन क्वारेन्टाइनमा बसेर मंगलबारदेखि नियमित काममा फर्किएका छन् । जेठ १ गते राति कोरोनाका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलालाई टिचिङ अस्पताल महाराजगञ्जमा गएर मन्त्री ढकालले भेटेको स्रोतले बताएको छ ।
धुलिखेल अस्पतालमा जेठ १ गते मृत्यु भएकी सिन्धुपाल्चोको बाह्रबीसे ९ बस्ने २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वैशाख २४ गते सुत्केरी भइन र २५ गते उनलाई अस्पतालबाट डिस्चार्ज भएकी थिइन्।

सिन्धुपाल्चोक स्थित घरमा पुगेपछि उनीमा ज्वरो आउने तथा स्वास्प्रस्वाससँग सम्बन्धित समस्या देखिएपछि उपचारका लागि स्थानीय अस्पतालमा पुगेकोमा थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो।

कोरोनाको कारण महिलाको मृत्यु भएपछि मन्त्री ढकालल स्वास्थ्यकर्मीको आग्रहमा ५ दिन क्वारेन्टाइनमा बसेको मन्त्री निकट स्रोतले जनाएको छ । यसबीचमा मन्त्री ढकालको स्वास्थ्यमा कोरोना पोजेटिभ नदेखिएपछि मंगलबार देखि नियमित काममा फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ७ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालमा कोरोनाका कारण ४ जनाको ज्यान समेत गएको छ ।

गत वर्षका डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाको महामारी विश्वभरी फैलिएको छ । सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । विश्वभरी ३ लाख ४८ हजार बढीको मृत्यु हुँदा अमेरिकामा मात्र ९९ हजार ८ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म १७ लाख ६ हजार बढी कोरोनाको संक्रमणको प्रभावमा परेका छन्।

कारोना संक्रमितको सम्पर्कमा पुगेर क्वारेन्टाइनमा बसेको नेपालमा उच्च पदका सम्भवतः मन्त्री ढकाल पहिलो व्यक्ति हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.