बजेटबारे अर्थमन्त्रीको प्रष्टिकरण : दुई फड्को मार्न, एक फड्को पछाडि

डिसी नेपाल
१६ जेठ २०७७ १८:१४

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले शक्ति संचय गर्नका लागि बजेटको आकार घटाएको प्रष्टिकरण दिएका छन् । शुक्रबार बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोनापछि सरकारले तिव्र आर्थिक विकास गर्ने र त्यसैका लागि शक्ति संचय गरिएको बताए ।

‘सामान्यता १० देखि १५ प्रतिशत बढाउने प्रचलन भएपनि बजेट घटेकाले हामी सामान्य अवस्थामा छैनौं भन्ने देखिन्छ’ खतिवडाले भने, ‘कोरोनापछि तीब्र आर्थिक विकासका लागि शक्ति संचय गरेका हौं, दुई फड्को अघि जान एक फड्को पछाडी हटेको अवस्था हो ।’
खतिवडाले चालु आर्थिक वर्षको तुलनामा ५८ अर्ब रुपैयाँ कम गरी आगामी आ.व.का लागि १४ खर्व ७४ अर्ब रुपैयाँ बराबरको बजेट बिहीबार संसदमा प्रस्तुत गरेका थिए ।

अर्थशास्त्रीहरुले ऋण बढाएर भएपनि उच्च बजेट ल्याउन सुझाव दिएपनि त्यसलाई स्विकार नगरिएको खतिवडाले जानकारी दिए । ‘आन्तरिक ऋण बढाएर भएपनि ठूलो आकारमा बजेट ल्याएर खर्च गर्न सुझाव आएको थियो’ उनले भने, ‘सरकारले आन्तरिक ऋणलाई कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतकै हाराहारीमा राखेको छ ।’ उनले संघीयतालाई बलियो बनाउन संघको बजेट संकुचित भएपनि प्रदेश र स्थानीय तहलाई दिने बजेट बढाइएको जानकारी दिए । उनले कोरोना संक्रमण सकिएपछि छिट्टै सामान्य अवस्थामा फर्किने भन्दै ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पनि पुरा गर्ने सकिने बताए ।

६० अर्व बराबरका राहत

यसैगरी, अर्थमन्त्री खतिवडाले कोरोना प्रभावित व्यवसाय र सर्वसाधारणलाई राहत दिन ६० अर्व बराबरको कार्यक्रम ल्याइएको जानकारी दिए । उनले सवै राहत नगदमा नहुने भन्दै नीतिगत व्यवस्थाबाट पनि सहुलियत दिइएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले रोजगारी गुमाएकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट काम र काम गर्न नसक्नेलाई ज्यालाको एक चौथाइ बराबर राहतबाट ३ अर्ब वितरण हुने जानकारी दिए । यस्तै, विद्युत महशुल छुटबाट ८ अर्ब, हवाई सेवाका दस्तुर र पूर्वाधार कर छुटबाट सवा अर्ब, सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने लकडाउन भरिको रकमका लागि एक अर्ब १५ करोड, सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट १४ अर्ब, राष्ट्र बैंकमार्फत ५ प्रतिशत ब्याजमा एक खर्बको पुनकर्जाबाट २० अर्ब रुपैयाँ बराबरको राहत पुग्ने उनले दावी गरे ।

यस्तै कर छुट र सहुलियतबाट ६ अर्ब, खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत खाद्यान्नमा १० प्रतिशत छुट गरेर बिक्री गर्दा ५० करोड रुपैयाँ राहत पुग्नेछ ।

खतिवडाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए । कोरोना संक्रमण र लकडाउनका कारण स्वदेश र विदेशमा रोजगार गुमाउनेलाई लक्षित गरी बजेटले ८ लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताए ।

खतिवडाले पेट्रोलियम खपत कम गर्नका लागि बिद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगा विद्युतीय गाडीहरु आयात भएको र दुई बर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा जाने भएकोले सो बन्द गर्न कर बढाएको स्पष्ट पारे ।

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भई चोरी निकासी हुने गरेको भन्दै त्यसलाई रोक्न पनि कर बढाउनुपर्ने आवश्यक रहेको अर्थमन्त्रीले स्पष्टिकरण दिए । ‘भारतमा भन्दा नेपालमा सस्तो भई चोरी निकासी हुने गरेकाले मूल्य समायोजन गर्न पेट्रोलियम पदार्थको कर बढाएको हो’ उनले भने, ‘यसबाट उपभोक्ता मूल्यमा पनि असर गर्दैन, आयल निगमको नाफा पनि घट्दैन ।’

करबृद्धिले उपभोक्तालाई असर नपर्ने उनले दावी गरे । सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ भन्सार बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *