नेपालबाट अमेरिका आउन विशेष उडान
वासिंगटनडिसी । नेपालबाट अमेरिका आउन चाहने बैधानिक कागजपत्र भएका व्यक्तिहरुलाई चार्टर उडानबाट अमेरिका ल्याइने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावाससंगको समन्वयमा डिलिजेन्ट ट्राभल्स, मेगावाइट ट्राभल्स र टर्किस एयरलाइन्सको संयुक्त पहलमा पहिलो उडान जुन २ तारिक हुने भएको छ ।
यसअघि अमेरिकी दूतावासले आफ्नो मुलुकका नागरिकहरुका लागि नेपालबाट अमेरिका आउनका लागि विशेष व्यबस्था गरिसकेको भए पनि अझै पनि नेपाली मूलका समेत अन्य अमेरिकी नागरिक र अमेरिकामा स्थायी बसोवासका लागि अनुमति पाएका व्यक्तिहरुका लागि जुन २ का दिन विशेष उडान तय गरिएको डिलिजेन्ट ट्राभल्सका कार्यकारी प्रमुख माधव पौडेलले डिसी नेपाललाई बताए । उनका अनुसार, जुन ५ तारिकमा पनि अर्को यस्तै विशेष उडान तय गर्ने प्रयास भइरहेको छ । पौडेलले अत्यावश्यक कामका लागि अमेरिका जानु पर्ने र अनुमति पत्रसहितका सम्पूर्ण कागजात भएका व्यक्तिहरुले ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्ने बताए ।
अमेरिकाका लागि यी उडानहरु तय गर्न नेपालको पररष्ट्र मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावाससंग पनि सोधेको थियो । नेपालबाट लगिएका व्यक्तिहरुले कोभिड १९ को महामारीको यो समयमा अमेरिका प्रवेश पाउने नपाउनेबारे सोधिएको पत्रको जवाफमा अमेरिकी दूतावासले अमेरिकी नागरिकहरु, अमेरिकामा स्थायी बसोवास गर्ने व्यक्तिहरु, ग्रीनकार्डवाहक व्यक्तिहरुसहित पांच प्रकारका अध्यागमन अनुमति प्राप्त व्यक्तिहरुलाई अमेरिका प्रवेशका लागि रोकावट नभएको जानकारी दिएको थियो ।
डिलिजेन्ट ट्राभल्सका प्रमुख पौडेलका अनुसार, पहिलो उडानका लागि २५० यात्रु तय भएका छन् भने दोस्रो उडानका लागि प्रक्रिया जारी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment