काठमाडौंमा भाडामा बस्ने विद्यार्थीको चिन्ता : भाडा तिर्ने कि सामान नै छोड्ने?

डिसी नेपाल
२४ जेठ २०७७ ८:४९

नुवाकोट। लगातारको लडकाउनले मध्यमवर्गीय परिवार प्रभावित भएसँगै डेरामा बस्दै आएको विद्यार्थी झन समस्यामा परेका छन्। बढ्दो लकडाउनका कारण जीवन निर्वाह गर्दै आएको सानोतिनो रोजगारी पनि खोसिएकाले डेराभाडा, कलेजको शुल्क तिर्न समस्या मात्रै होइन विहान बेलुकाको छाक टार्नसमेत समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन्।

रत्नराज्य कलेजमा ब्याजलर पहिलो वर्षमा अध्ययरत नुवाकोटकी मालती राई भन्छिन्, ‘अब त चिन्ता बढ्न थालेको छ। एक महिना होइन दुई महिना होइन सधैं यस्तै कसरी हुन्छ। अरु भन्दा पनि कलेज फी, कोठा भाडा कसरी तिर्ने भन्ने चिता बढेको छ। घरबाट ल्याउने आर्थिक अवस्था छैन।

लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुङ्गो अझै छैन। सरकारले आफैलाई अवसर मिलाए पनि सबैको समस्या बुझ्न नसकेको बताउँछन् काठमाडौं नेपालटारस्थित एनआरएन कलेज पढ्ने विद्यार्थीका अभिभावक नुवाकोट विदुरका रामराजा ओझा।

‘यस्तो समयमा पनि सरकारले चौतर्फी हेर्न सकेन, कोरोना आयो सत्तालाई फाइदा भनेजस्तो भएको छ। यो महामारीको घडीमा यी कलिला बच्चामाथि सरकारले चासो देखाउनु पथ्र्यो। काठमाडौं पढ्न गएका कति विद्यार्थी कलेज फी र कोठा भाडा कसरी तिर्ने भनेर चिन्तित देखिएका छन्,’ उनले भने।

विषय सानो देखिएपनि चिन्ता भने गम्भीर परेको छ। काठमाडौंको भृकुटीमण्डपस्थित पद्द्मोदयमा अध्ययनरत रवि वस्ती भन्छन्, ‘सानोतिनो जागिर गरेर पनि चलेकै थियो। घरबाट त अलिकति पनि आस गर्न नै सकिँदैन। अब पढाइ छाडौं भने भविष्य बिग्रेला भन्ने चिन्ता। नछोडौं कसरी पैसा तिर्ने भन्ने चिन्ता। खै के को गर्नु खाडी तिर जाउँ भने पनि अर्काको देशले अहिले तत्काल कर्मचारी नखोज्ला।’

‘लकडाउन खुल्ने बेलासम्म एक लाख नाघ्ने भयो कोठा भाडा, दोधारमा छु सामान छाडौं कि भाडा तिरौं दोधारमा छु,’ शंकरदेव कलेजमा अध्ययनरत शर्मिला रिजालले चिन्ता व्यक्त गरिन्।’

मौरी त उड्यो महको के आस भनेजस्तो भएको भन्दै पशुपति कलेज ब्याजलर दोस्रो बर्षमा अध्ययरत सुजाता रिमाल भन्छिन्, ‘मौरी त उड्यो महको के आस, खान त पाइन्न जस्तो छ। अब कसरी कोठा भाडा तिर्ने, न तलब आउँछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *