आगामी ३ दिन भारी वर्षा हुने, बाढी पहिरोको जोखिम

डिसी नेपाल
२४ असार २०७७ १७:५९

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ गतेदेखि २८ गतेसम्म चनाखो रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। बुधबार प्रेस वक्तव्य जारी गर्दै असार २५ गतेदेखि २८ गतेसम्म प्रदेश नं. १, प्रदेश २, वागमती प्रदेश गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गर्दै आउनसक्ने विपद्का लागि तयार रहन र चनाखो रहन अनुरोध गरेको हो।

प्रेस वक्तव्यमा भनिएको छ, ‘यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेको सन्दर्भमा यो भारि वर्षाले बाढी, पहिरो र डुवानको जोखिम बढाइदिएको छ। पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदिनालामा बाढी आउने सम्भावना छ। लामो वर्षाले पहाडी भूभाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ। यसबारे चनाखो रहन पनि आग्रह गर्दछौं।’

प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार राजनीतिक दल सम्पूर्ण विपदसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु साथै विपदमा खटिने संस्थाहरुलाई पनि चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ।

प्रेस वक्तव्यमा भनिएको छ, ‘शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। खासगरी १ र २ प्रदेशका चुरे तथा तराई भएर बग्ने बग्ने खोला तथा नदिहरुमा ठुलो बाढी आउन सक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष अनुरोध गर्दछौं।’

‘तराइका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावन भएकाले बलैमा सचेत रहन अनुरोध गर्दछौ।’ प्राधिकरणद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *