बाह्रबीसे घटनाः राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

डिसी नेपाल
२५ असार २०७७ १८:१४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छन् ।

आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पु¥याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै मानिस बेपत्ता भएकामा उनिहरुको अवस्थाका बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। बाढीपहिरोका कारण विस्थापितका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्योपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन्। उनले विगत केही दिनयता देशका विभिन्न भागमा बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *