अरनिको, मेची र कालीगण्डकी करिडोरसहित सात जिल्लाका सडक पूर्ण अवरुद्ध
काठमाडौं। लगातारको वर्षापछि आएको पहिरो, बाढी र सडकमा जमेको हिलोगेग्रानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ९:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सात जिल्लाका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएको र केही राजमार्गमा सुरक्षाको कारण देखाउँदै राति सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
सम्भावित बाढी र पहिरोको जोखिमलाई दृष्टिगत गर्दै प्रहरीले काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
यसैगरी, वर्षायामको उच्च जोखिमलाई ध्यानमा राख्दै कान्ति लोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
देशका विभिन्न भागमा पहिरो र सडक कटानका कारण यातायात ठप्प भएको छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध बनेको छ।
यस्तै, बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर र मुगुको पिना खोलास्थित नाग्म-गमगडी सडकखण्डमा पनि पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ।
त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिकास्थित लामाबगर–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि उक्त मार्गमा पनि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment