वर्षा र पहिराले बीपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध
काठमाडौं। लगातारको वर्षाका कारण विभिन्न स्थानमा खहरेखोलाबाट लेदो बगेर सडकमा थुप्रिनुका साथै पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो र लेदोका कारण यात्रुहरूलाई आउजाउमा कठिनाइ भएको छ।
काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाले लेदो र ढुङ्गामाटो बगाएर ल्याएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
त्यसैगरी, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक ठप्प भएको छ।
यता ललितपुर महानगरपालिका-२ सुन्दरीघाट क्षेत्रमा बागमती खोला करिडोरको सडकमा पानीको सतह बढेपछि सवारी आवागमन रोकिहालिएको छ। साथै, ललितपुरकै बागमती गाउँपालिका-३ स्थित पाङ्दुर र टार्कुचेमा कान्ति लोकपथमा पहिरो खसेकाले सो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment