डोल्पाको शे-फोक्सुन्डोमा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

डिसी नेपाल
१५ कार्तिक २०८३ ८:१३
8
Shares

सुर्खेत। डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे-फोक्सुन्डो गाउँपालिका-८ स्थित फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।

शे-फोक्सुन्डो गाउँपालिका-४ र ८ को बीचमा पर्ने कठिन नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेको प्रारम्भिक अनुमान गरिएको छ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण हिमाली भेगमा हिमपात भएपछि यी पर्यटकहरू जोखिममा परेका हुन्।

स्थानीय गाइडका अनुसार हिमपात भइरहेकाले पास क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई यात्रा नगर्न सचेत गराएका थिए। तर, स्थानीयको सुझावलाई बेवास्ता गर्दै अघि बढेपछि उनीहरू हिउँमा फसेका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार स्थानीयको आग्रहका बाबजुद धोबाट फोक्सुन्डो तालतर्फ अघि बढेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका हुन्। यस्तै, शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङले वडा नम्बर ४ र ८ को बीचमा पर्ने उक्त पासहरूमा मोबाइल नेटवर्क नभएकाले पर्यटकहरूको अवस्थाबारे यकिन जानकारी लिन कठिनाइ भइरहेको बताएका छन्।

उपल्लो डोल्पा पुगेका २४४ मध्ये ६ जना सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार हाल उपल्लो डोल्पा क्षेत्रमा १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशीसहित कुल २४४ जना पर्यटक पुगेका छन्। सम्पर्कविहीन भएका ६ भारतीय नागरिक पनि यही सूचीभित्रका हुन्।

शे-फोक्सुन्डो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले यो तालको भ्रमण गरेका थिए। यद्यपि, उच्च हिमाली क्षेत्रमा अचानक हुने प्रतिकूल मौसम, हिमपात र सञ्चार सम्पर्कको अभाव सधैँ चुनौतीका रूपमा रहने गरेको छ।

खोजीका लागि सेना परिचालन र हेलिकप्टरको माग

डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार दुई महिला र चार पुरुष रहेका ती पर्यटकहरू अझै सम्पर्कमा आएका छैनन्। बाक्लो हिउँ र सञ्चारविहीन क्षेत्र भएकाले उनीहरूको वस्तुस्थिति बुझ्न गाह्रो भइरहेको छ।

सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा पैदल उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिएकी छन्।

साथै, प्रतिकूल मौसमका कारण पैदल उद्धारमा चुनौती देखिएकाले हवाई निरीक्षण तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *