देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ

डिसी नेपाल
१५ कार्तिक २०८३ ८:४२

काठमाडौँ। प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा चेकजाँचका क्रममा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।

शुक्रबार र शनिबार गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषध तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट नगद २० हजार २०० रुपैयाँ र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँका दुई स्थानबाट तीन जना, झापा र सुनसरीका एक–एक स्थानबाट दुई/दुई जना, पर्सा, लमजुङ र बर्दियाबाट एक/एक जना तथा कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका हुन्।

काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद २० हजार २०० रुपैयाँसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन्। त्यस्तै, काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट छ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

झापाको झापा गाउँपालिका–५ खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित खड्ग राजवंशी र चैतन हेमरम पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट डाइजेपाम २७, फेनारगन २९ र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङका २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठाबाट १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित डोटीका २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०/१० एम्पुलसहित ३० वर्षीय सुजन तामाङ पक्राउ परेका छन्।

यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दीपक परियार र बलबहादुर थापा पक्राउ परेका छन्। बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *