कतारबाट तत्कालै १२ हजारभन्दा बढी नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ : राजदूत भारद्वाज

बिनेश खनाल
३१ असार २०७७ १५:४६

काठमाडौँ। कतारबाट तत्कालै १२ हजारभन्दा बढी नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था रहेको कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले बताएका छन्। कोरोना भाइरसका कारण कतारमा पनि थुप्रै नेपालीको रोजगारी प्रभावित भएकोले उनीहरुलाइ चाँडै उद्धार गर्नुपर्ने अवस्था आएको उनले बताए।

‘साढे ३ लाखभन्दा पनि धेरै नेपाली कतारमा छन्। यति धेरै नेपाली भएको ठाउँमा समस्या नआउने कुरै भएन,’ राजदूत भारद्वाजले डिसी नेपालसँग टेलिफोनमा भने, ‘चार्टर्ड उडानमा नेपालीहरुलाई फर्काउने क्रम जारी छ। अझै १२ हजारभन्दा बढी नेपालीलाई तत्तकालै फर्काउनु पर्ने अवस्था छ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार पहिलो चरणका चार्टर्ड उडानमार्फत कतारबाट २ हजार ८८४ नेपाली नेपाल फर्किएका छन्। सरकारले असार २८ गतेसम्मका लागि तय भएका सबै चार्टर्ड उडान पूरा भएपछि थप ४२ चार्टर्ड उडान तय गरेको छ।

नयाँ तालिका अनुसार कतारबाट १२ वटा चार्टर्ड जहाजमार्फत समस्यामा परेका नेपाली फर्काइने उनले बताए। उनका अनुसार अबको एक हप्ताभित्रमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका छ–छ वटा उडान हुनेछन्।

कतारबाट स्वदेश फर्कने नेपालीहरुको संख्या अत्याधिक रहेकोले सीमित संख्यामा उडाइएका चार्टर्ड जहाजले थेग्न नसकेको उनको भनाइ छ। समयमै उद्धार नभएपछि दूतावासमा गुनासोहरु पनि धेरै आउन थालेको उनले बताए।

‘फर्काउन पर्ने नेपालीहरु धेरै छन्। तर, प्रयाप्त रुपमा जहाज छैनन्,’ उनले भने, ‘अहिले दूतावासमा चाँडै घर फर्कन पाउँ भन्दै गुनासो गर्नेहरुको चाप बढ्दो छ।’

दोस्रो चरणका लागि दूतावासले २ हजार ४ सय नेपालीको नाम सूचीमा निकालेको छ। तर, राजदूत भारद्धाजले दोस्रो चरणमा पनि करिब १८ सयमात्रै नेपाली फर्कन सक्ने बताए। उनले भने–‘यो हप्ता नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका छ–छ वटा जहाजले उडान भर्ने तालिका तय भएको छ।’

उनले थपे -‘जहाजहरु १५०/१६० मात्रै यात्रु बोक्न सक्ने क्षमता भएका न्यारोबडी किसिमका हुन्। २ वटा एयरलाइन्सका १२ उडानमा करिब १८ सय नेपालीलाई मात्रै पठाउन सकिने अवस्था छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *