हनुमन्ते नदीको बाढीले भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

डिसी नेपाल
६ साउन २०७७ ६:५६

कामठाडाैं। दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन्। घरमा हनुमन्ते पस्दा भुइँतलाका सामान डुबाएका छन् भने मानवीय क्षति नभए पनि भौतिक सामग्री डुबानमा परेका छन्। हनुमन्तेको बाढी बस्तीमा पस्दा बाराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ। हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिरसँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल, उहाँका दर्जनौँ घर डुबानमा परेका छन्। बाराहीस्थानमा पुलको मुख नै थुनिएपछि स्थानीय र जनप्रतिनिधिले पुलमुनि थनिएका सामग्री निकालेका थिए।

भक्तपुर वडा १ का सल्लाघारी क्षेत्रमा रहेको बस्ती र इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ। भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पु-याएको जानकारी दिए।

यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् । बालकोटको चारदोबाटो क्षेत्रभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन्। बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिए।

बालकोट वडा नं. २ हाइटका बस्ती समेत डुबानमा परेका छन् । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बङ्गलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिए। कौशल्टार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ।

त्यस्तै सूनपा वडा नं. ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डुबानमा परेको छ । कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए। यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको र भौतिक क्षति भएको उहाले जानकारी दिए।

गणेधारा टोल सुधार समितिका अध्यक्ष अनिता पाण्डेले घट्टेखोलामा लगाएको पर्खालसमेत भत्काएको र अचानक बस्तीमा पानी पसेपछि आवतजावत गर्नसमेत रोकिएको बताए। बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौँको भौतिक क्षति भएको उनको भनाइ छ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पु-याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन्। हनुमन्ते करिडोर बनेको क्षेत्रमा विगतका वर्षमा डुबानमा परे पनि यसवर्ष डुबानमा परेन।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *