यसरी उदाएका थिए कम्युनिष्ट, नियन्त्रण गर्न क्षेत्र नै फोर्नु परेको थियो

डिसी नेपाल
१० साउन २०७७ ८:२०

२०१७ सालमा राजा महेन्द्रले देशको शासन सत्ता आफ्नो हातमा लिएपछि त्यसको बिरोधमा २०१८ सालमा नेपाली काँग्रेसले भारतको सहयोगमा सशस्त्र क्रान्ति शुरु त गय्रो तर सोही बेला भारत र चीनबीच युद्ध छेडिएकोले गर्दा छोटो समयमै काँग्रसले विद्रोह स्थगित गर्नु परेको थियो।

पाँचथर थर्पुका देवान दोर्जेको नेतृत्वमा पूर्वी पाहाडमा लडिरहेको नेपाली काँग्रेसको फौजले ताप्लेजुङ फुङलिङको अमिनि अड्डा पुलिस ठाना अदालत जेल सबै कब्जा गरिसकेको थियो भन्ने सुन्नमा आएको थियो। २०१८ साल माघ १ गते आठराईको पुलिस ठानामा हमला गर्ने तयारीमा रहेका काँग्रेसका सिपाहीहरु हमलाका लागि अनुकुल बातावरण बन्न नसकेको हुँदा ठानामा हमला नगरी फर्किएका थिए।

२०१९ साल पौष १ गते नयाँ संविधन जारी गरी देशमा निर्दलीय पन्चायती व्यबस्था लागू गरियो। आठराईले यसको बिरोध गर्ने कुनै गुन्जायसै थिएन। देशमा निर्दलीय पन्चायती व्यबस्थाअनुसार देशको प्रशासन चलाउन ७५ जिल्ला र १४ अन्चलको ब्यवस्था गरियो। आठराई थुम क्षेत्र तेह्रथुम जिल्लामा कायम हुन गयो। र, पछि आठराई इलाकामा १५ वटा गाउँ पन्चायत कायम गरिए।

हरेक गाउँ पन्चायतमा प्रधानपन्च १,उप प्रधानपन्च १, प्रत्येक वाडमा १ जना वाड अध्यक्ष र ४ जना वाड सदस्यको निर्वाचन हुने व्यबस्था थियो। तर पहिलो पटक आठराईका प्राय सबै गाउँ पन्चायतमा सबै पदमा निर्बिरोध नै चुनिएका थिए।

गाउँमा पार्टीगत समुह नभएपछि गाउँलेहरुले एकप्रकारको एकताको वातावरणको अबस्थाको सृजना भएको महसुस गरेका थिए। र केही हदसम्म यसले समाजको भाइचारामा सकारात्मक प्रभाव पार्न सफलता प्राप्त गरेको पनि थियो। समाजको बाहिरी सतह त सम्म नै देखिन्थ्यो तर भित्री तह भने उभड खावड नै बन्दै गएको थियो।

आठराईका हाईस्कुलका हेडमास्टर, केही शिक्षक र कलेजका प्रिन्सिपल भारतको दार्जिलिंगबाट ल्याइएका हुँदा उनीहरु सँगै आएको कम्युनिष्ट बिचारधाराले विद्यार्थीहरुमा बिस्तारै प्रभाव पार्दै लगेको साथै स्कूल कलेजबाट उत्तीर्ण हुँदै गएका युवाहरुले कुनै काम नपाउँदा उनीहरुमा उत्पन्न हुन गएको एक प्रकारको नैराष्यताले गर्दा पनि समाज भित्र भित्रै वाम राजनीतितिर लहसिँदै गएको रहेछ ।

बिस्तारै बिस्तारै निर्दलीय पन्चायती ब्यबस्थामा राजनीतिका तीन धार देखिन लागे। अनुदारवादी ,उदारवादी र प्रगतिशिल। २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा आठराई क्षेत्रमा नेपाली कांग्रेसकै पक्षमा जनमत थियो। तर, निर्दलीय पन्चायत व्यबस्था लागू भएपछि भने बिस्तारै नेपाली काँग्रेस समर्थकहरु घट्दै जान लागेका र कम्युनिष्ट समर्थकहरुको जमात बढ्दै जान लाग्यो। तीनैवटै धारले आफूलाई पन्च नै हुँ भन्ने गर्थे।

२०१९ सालमा जारी गरेको नयाँ संविधानले समाजको प्रगतिशल धारलाई नै बढी ब्याख्या र समर्थन गरेको थियो। जस्तै, धनी गरिबको दुरी कम गर्दै लैजाने भनि भूमिसुधार व्यबस्था लागू गरी भुमिमा हदवन्दीको ब्यवस्था, नयाँ मुलुकी ऐन लागु गरी समाजमा छुवाछुत प्रथाको अन्त्य, ऋण निश्चित कार्यक्रम लागु र खर्कको राष्ट्रीयकरण आदि पन्चायत ब्यवस्थाका ज्यादै महत्वपूर्ण एवं प्रगतिशिल कार्यहरु थिए।

यिनै र यस्तै कार्यहरुलाई आधार बनाई प्रगतिशिल बिचारधारा समर्थक युवा जमातले सर्वसाधारण जनतामा कम्युनिष्ट राजनीतिको खेलो फट्को गर्दै अर्ध दिक्षित युवा जमातलाई उग्रवामपन्थी बिचारधारातर्फ धकेल्दै लग्यो। २०२५ सालतिर आइपुग्दा उग्र वामपन्थी विचारधाराले आठराईमा निकै हलचल पैदा गरिसकेको थियो। समाजको सतहमै अलि उग्रैखाले बाम गतिविधिहरु देखिन थालिसकेका थिए।

आठराईबाट शुरु भएको उग्र वामपन्थी कृयाकलाप २०२८ सालमा बर्गशत्रु खतम भन्ने नाराका साथ झापामा व्यक्ति हत्या गरी सरकारलाई चुनौति दिने अबस्थामा पुगेको थियो। तर यसमा उनीहरुले ठूलै क्षति बेहोर्दै क्षतबिक्षत नै हुनु पर्यो र पुन त्यो बाटो फेरि कहिल्यै हिँडेनन पनि। आज नेपालको कम्युनिस्ट यात्राको राजनीतिमा झापाकाण्ड एक ज्यादै महत्वपूर्ण घुम्तीमा पुगेर पुरै मोडिएको थियो भन्ने घाम जस्तै छर्लंग भएर रहेको छ।

झापा काण्डमा सम्लग्न प्राय सबै नै आठराईमा नै पैदा भएका कम्युनिस्ट थिए। झापा काण्डले गर्दा आठराईलाई पनि सरकारले कडा नजरले हेर्न शुरु गर्यो।
वीरेन्द्र इन्टर कलेज चुहाण्डाँडा आठराईमा प्रिन्सिपलको नियुक्ति बिषयलाई लिएर शुरु भएको बिवादका कारण सरकारले कलेज नै बन्द गरेको थियो। केही समयपछि तेह्रथुम क्याम्पसका नामबाट सन्चालनमा ल्याएको थियो। अहिले डिग्रीसम्मको कोर्ष त्यहाँ पढाइ हुन्छ।

आठराईमा वामपन्थीहरुको चर्को उपस्थिति हुन थाल्यो। देशको पूर्वी भागको राजनीतिको केन्द्र बन्दै गयो र तत्कालीन व्यबस्थाका लागि ठूलो समस्या पनि। त्यसैले सो क्षेत्रको वामपन्थी राजनीतिलाई नियन्त्रण गर्ने उद्देश्यले २०३२ सालमा आठराईको आधाभागलाई ताप्लेजुङ जिल्लामा मिलाइयो।

भौगोलिक दृष्टिकोणबाट हेर्दा चैं यस कार्यलाई राम्रो मानिन्छ। अहिले तेह्रथुम जिल्लाको आठराई ‘आठराई गाउँपालिका’ र ताप्लेजुङ जिल्लाको आठराईलाई ‘आठराई त्रिवेणी गाउँ पालिका’ नाम दिइएको छ। तेह्रथुम जिल्लाको सो गाउंपालिकामा नेकपा र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणीमा नेपाली कांग्रेसको स्थानीय सरकार छ।

समग्र आठराई अहिले द्रुत गतिमा बिकासको पथमा लम्किरहेको छ। चुहाण्डाँडामा विमानास्थल बन्ने आशमा रहेका आठराईबासीहरुले झण्डै झण्डै २०१४—१५ साल तिर नै एयरपोर्ट पाइ सकेका थिए। तर, कार्यान्वयन हुन सकेन । अहिले ६०—६२ बर्षपछि भए पनि आठराईबासले हवाइ जाहाज देख्न पाउने सम्भावना बढेको छ।

आठराई नेपालको पूर्वी पाहाडका सुन्दर स्थानहरु मध्येमा पर्दछ। पहिले फेदाप थुममा पर्ने खाम्लालुङ, साम्थाङ, दोरप लिसिबुङ, खेलपुर, डाँडा गाउँ, पाक्तिन गाउँहरुलाई आठराई थुममा मिलाइएपछि आठराईको भौगोलिक आकार राम्रो बन्न गएको छ। अब २० बर्षमा दुबै गाउँपालिका एउटै आठराई शहर बन्नेछ। केन्द्रमा नेकपा नटुटेसम्म आठराईको स्थानीय सरकारमा लाख कोसिस गरे पनि अरु कुनै पनि राजनीति पार्टीको सरकार बन्ने कुनै गुन्जायस देखिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *