कविता : बिछोड

शंकरप्रसाद रिजाल
२० मंसिर २०८२ ७:३९
124
Shares

सँगै बस्ने बाचा गरी माया गरेको थिएँ
आखिर कुन्नि के ले हो म एकलो भएँ
खोइ त्यो मेरो माया किन बिछोड भयो
कहाँ थियो कहाँ गयो जीबन एकलो भयो

किन मलाई छोडी गयौ किन दिल दुखायौ
गरेका भुल र कसुर खोइ कहिले बतायौ
जाउँ त कहाँ जाउँ लिएर यो जवानी
कोही सुन्दैनन् मेरो विरहको काहानी

तिम्रो अनुपश्थितिमा जीवन छ अध्याँरो
भन के छ मेरो कसुर किन यो तगारो
रुक्दैन मेरो आँखाबाट आँसुको धारा
मनमा भएका इच्छा मरी रहेछ सारा

किन श्वास निस्किँदैन नाम तिम्रो लिएर
जे भुल र कसुर भएपनि जान्छु जीवन छोडेर
जे भुल र कसुर भएपनि जान्छु जीवन छोडेर

ऐनामा हेर्दा

ऐनामा हेर्दा म देख्छु मेरा सपना
देख्छु अनगिन्ति इच्छा र आशाहरु
ऐनामा हेर्दा म देख्छु मेरा भूलहरु
म देख्छु मेरा सफलताहरुपनि

ऐनामा हेर्दा म देख्छु मेरो आँसु
फेरि हेर्दा म देख्दछु हाँसो पनि
ऐनामा हेर्दा म देख्छु मेरो जीवन
देख्दछु फेरि मेरो गन्तव्य पनि

सपनापनि म ऐनामानै देख्दछु
भविष्य पनि म ऐनामा नै देख्दछु
म मेरो प्रेम देख्छु ऐनामा नै
जीवनसाथि म देख्छु ऐनामा नै

अयिनामा हेर्दा म देख्छु मेरो परिवार
म देख्छु फेरि म भित्रका कुराहरु
म देख्छु मेरो लक्ष्य र सफलता
देख्छु म जीवनको अर्थ र अस्तित्व

संसार

संसार एक रंगिन चित्र हो,यो जीवनको हरेक पल हो
सुख दु:खको मेल हो जीवन यात्राको निरन्तरता हो
संसार एक जीवको जमात हो र मानिसको भिड हो
फरक संस्कृति र भाषा र धर्म बोकेका एकै हृदय हो

प्रेम करुणा रिस, राग र लोभले भरिएको एक काया हो
संसार प्रकृतिको सौन्दर्यताले भरिएको एक बगैंचा हो
मानिसहरुको खेल खेलको एक ठूलो पर्दाको रंगमञ्च हो
कविहरुको एक उडान हो, नाटककारहरुको मञ्च हो

साहित्यकारको पानाहरु हो, यहाँ किट्स, कलरिज बाइरन
सेक्सपिएर, रबिन्द्र नाथ टेगोर र देबकोटा कोठाको एक
कुनामा बसी आफ्नो विधामा संसार हल्लायिरहेका होलान्
कोही युसुफ झैं संगीतमा मस्त रहेका होलान् भने कोही

तानसेन हरिदास जस्ता संगीतज्ञले गीत छेडी रहेका होलान्
यहाँ कैयौं चाखेर छोड़ीएका खाना मिल्किरहेका होलान भने
त्यही खाना हप्तौंसम्म खान नपाई संसारको कैयौं राष्ट्रमा
मानिस छटपटायी रहेका होलान् योपनि एक संसार नै हो

संसार सौन्दर्य पनि हो भने समश्यापनि हो जहाँ गरीबी
भोकमरी र युद्धले हरेक दिन आक्रान्त बनिरहेको छ
यसमा हामीले धेरै धेरै संघर्ष गर्नु पर्दछ र संसारलाई अझ
राम्रो बनाउनु पर्दछ।

संसार आशापनि हो, सबै आशावादीहरु छन् र भविष्यको
कल्पना गर्दछन्, तसर्थ मिलेर कामगरी संसारलाई राम्रो
क्रिडा स्थल बनाउनु पर्दछ, जहाँ सबैले सुख र शान्तिको
अनुभूति गर्न सकून्।

भनिन्छ “संसार एक रंगमंच हो“ जहाँ अरबौं मानिसहरु
कलाकारको भूमिका निभाइ रहेका हुन्छन्
संसार एक जन्म हो र मृत्यु पनि हो
यहाँ हर प्राणी र मानिसहरु जन्मी बाँची मरिरहेका छन्

“पुनरपि जननम् पुनरपि मरनम्” जन्मिने मर्ने क्रम जारी छ
तसर्थ संसारमा बाँच त यसरि बाँच बाँच्दा सबै अघिपछि रहुन्
मर्दा यसरी मर कि तिम्रो संसारमा केही नहोस्,
कि तिम्रो संसारमा कोही नहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *