लघुकथा : श्रब्या
“बुबा मलाईे दुई लाख दिनु न ३-४ महिनाका लागि” श्रब्याले म्यासेज बक्समा लेखी पठाई। “पैसा छैन त। मुद्धतिमा राखी हालेँ। म्याद नपुगी झिक्न पाइँदैन। मैले काम चलाउन सकिनँ।” मैले म्यासेज बक्समा जवाफ फर्काएँ।
श्रब्या कान्छी छोरी हो। उ गौशाला बस्छे। विगत ५ वर्षदेखि उ सँग औपचारिक भेटघाट छैन। अनौपचारिक हाल खबर थाहा भएपनि त्यसले औपचारिकता प्राप्त गर्न सकेको छैन।
श्रब्याको प्रेम विवाह हो। उसको टीको टालो भएकै छैन। माइती आउने बाटो फुकेको छैन। श्रब्या मास्टर्स गर्दै थिई। ०७८ को जनगणनामा उ सुपरीवेक्षक थिई। सुपरीवेक्षणको क्रममा नै पाण्डे थरका सुपरीवेक्षकसँग घनिष्ठता बढेर त्यो प्रेम विवाहमा परिणत भएको थियो।
ज्वाइँको के नाम हो? शैक्षिक योग्यता कति हो? घर परिवारको अवस्था कस्तो छ? त्यो बारे म अनभिज्ञ नै छुँ। श्रब्याले किन त्यस्तो कदम उठाई? म आश्चार्यमा पनि छु।
श्रब्याले घर छोड्दा म डिप्रेशनको बिरामी थिएँ। उ मेरो स्याहार सुुसारमा ध्यान दिइरहेकी थिई। एक महिना बोया गएर सँगै बसेकी पनि थिई। म बिरामी भइरहेको बेला श्रब्याले बिहे गरेर जानै पर्ने बाध्यात्मक कारण के थियो? त्यो मैले पत्ता लगाउन सकिरहेको छैन।
५ वर्षमा गत बैशाख २६ गते बिराटनगर कान्छी बहिनी ताराले घर पूजा लगाएको दिन श्रब्यासँग आकस्मिक भेट भएको थियो। उ बोल्न सकिन। म पनि बोल्न सकिन। हामीले धेरै बेर अंकमाल गर्याैं। श्रब्या रोई । म पनि रोएँ।
ज्वाइँ रोमानिया जाने रे। मास्टर्स सकाएर लोकसेवाको तयारी गर्दै छु भन्थी। बाबुछोरीको पुनर्मिलनमा ताराको घरमा एकछिन सन्नाटा छाएको थियो। श्रव्याले गरेकी विवाह के आत्माघाती गोल नै हो त?
No ads found for this position

डिसी नेपाल
Facebook Comment