बहिनी बनाएर नजिकिएका नेपाली युवाले कान्छी श्रीमती भनेपछि कतारमा साइवर मुद्दा दर्ता

बिनेश खनाल
१२ साउन २०७७ १६:११

काठमाडौँ। रोजगारीको लागि कतार पुगेकी मकवानपुर बकैया गाउँपालिकाकी शर्मिला थिङ ( नाम परिर्वतन) को दुई वर्षअघि दोहामा एक नेपाली युवकसँग भेट हुन्छ। शर्मिलाले कतार जाँदा आफ्नो गाउँले भाउजूको लागि कोसेली बोकेर गएकी थिइन्। त्यही कोसेली भाउजूलाई दिने क्रममा उनको ती युवकसँग भेट भएको थियो। भाउजू आफैं नआएर ती युवकलाई समान ल्याउन पठाएकी थिइन्।

समान ल्याउन आएका ती युवक थिए उदयपुर गाइघाटका बमबहादुर कामी (नाम परिर्वतन)। उनको फेसबुकको नाम हो पूर्वेली कान्छो। उनीहरुबीच पहिलो भेटघाटपछि क्रमश कुराकानी बढ्दै जान्छ। शर्मिलाका अनुसार बमबहादुरले सुरुमा उनलाई बहिनी भनेर सम्बोधन गर्थे, राम्रै व्यवहार गर्थे।

‘परदेशको ठाउँमा एक जना नेपालीले बहिनी भनेर सम्बोधन गर्दा राम्रै लाग्थ्यो। छोरी मान्छेको मन त हो! छिट्टै विश्वास गरिहाल्ने,’ उनी दोहाबाट डिसी नेपालसँगको कुराकानीमा विगतका कुरा सम्झिन्छन्।

दिनहरु बित्दै गए। उनीहरुको बीचमा कुराकानी पनि बढ्दै गए। भेटघाट पनि बाक्लियो। शर्मिलाका अनुसार बमबहादुरले त्यतिबेलासम्म पनि राम्रै व्यवहार गर्थे, बहिनी भन्थे। दुख सुखका कुरा गर्थे। आफन्तै नभए पनि आफन्तको जस्तै गरेर ढाडस दिन्थे शर्मिलालाई।

शर्मिलाका अनुसार बमबहादुर कतारमा ठेकदारको काम गर्थे। उनलाई पैसाको आवश्यकता पर्दथ्यो। शर्मिलासँग सापटी पैसा माग्ने गर्थे। उनले पनि पैसा दिने गर्थिन्। सुरुसुरुमा पैसा लगेपछि फिर्ता पनि गरिदिन्थे बमबहादुरले। उनीहरुबीच लेनदेन चलिनै रह्यो।

सापटी लगेको पैसा फिर्ता गरिदिएपछि शर्मिलालाई बमबहादुरप्रति विश्वास बढ्दै गयो। शर्मिला ड्यूटीमा व्यस्त भएको बेला कहीले काँही घरमा पैसा पठाउन बमबहादुरलाई लगाउँथिन्। उनले शर्मिलाको मन जितिसकेका थिए।

यसैबीचमा पछि काम गर्न अप्ठेरो परेको भन्दै साथीहरुसँग पनि पैसा सापटी खोजी देउ भन्न थाले बमबहादुरले। ‘पहिला राम्रो व्यवहार गरेपछि विश्वास बढ्दै गयो,’ उनले भनिन्, ‘ब्याज तिर्छु, साथीहरुसँग पनि पैसा खोजी देउ भनेपछि मसँगै काम गर्ने साथीहरुसँग पैसा सापाटी मागेर दिएकी हुँ।’

साथीसँग पनि पैसा खोजी देउ भनेपछि शर्मिलाले आफूसँगै काम गर्ने अन्य तीन जना केटी साथीसँग सापटी मागेर दिइन्। शर्मिलाका अनुसार ३ जना साथीबाट लिएको १५ हजार कतारी रियल (नेपाली झण्डै ५ लाख रुपैयाँ) बमबहादुरले लगेका छन्।

शर्मिलाका अनुसार यो पैसा लगेपछि बमबहादुरको व्यवहार अहिले बदलिएको छ। बमबहादुर विगत १ वर्षदेखि विभिन्न वहाना गरेर शर्मिलासँग झै–झगडा गर्न थालेका छन्। ‘पैसा नतिरेपछि मलाइ समस्या पर्न थाल्यो। पहिला राम्रो सम्बन्ध भए पनि विगत १ वर्षदेखि पैसाकै कारणले झै–झगडा भएको हो,’ उनले भनिन्।

शर्मिलाले सापटी मागेकी एक युवती अहिले नेपाल आइसकेकी छिन्। उनीबाट शर्मिलाले ५ हजार कतारी रियल सापटी मागेर बमबहादुरलाई दिएकी थिइन्। ‘बारम्वार माग्दा पनि पैसा फिर्ता आएन,’ उनी भन्छिन्, ‘साथीलाई नेपाल जानु पर्यो। अहिलेसम्म त्यो साथीले पनि पैसा फिर्ता पाएको छैन।’

आफूले पैसा फिर्ता गर्न दवाव दिएपछि पछिल्लो समय बमबहादुरले आफ्नो चरित्र हत्या गर्न थालेको शर्मिलाको दावी छ। ‘पैसा फिर्ता गर्नुको साटो अहिले विभिन्न कुराहरु निकालेर ब्ल्याकमेल गर्न थालेको छ,’ उनले भनिन्।

बमबहादुरले अहिले पहिलासँगै कार्यक्रम तथा घुमघाम गर्ने बेला खिचेका फोटोहरुको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरेको शर्मिलाको आरोप छ। फेसबुकमा आफूसँगै भएको फोटा राखेर श्रीमती भनेर बेइजत गरेको उनले बताइन्। बारम्बार फोन तथा म्यासेज गरेर विभिन्न डर देखाइ धम्की दिने गरेको उनको आरोप छ।

उनले बमबहादुरले पछिल्लो समय आफूसँग विवाह गर्न समेत दवाव दिन थालेको बताइन्। आफू विहे गर्न राजी नभएकै कारण बमबहादुरले यातना दिन थालेको उनको भनाइ छ।

शर्मिला साढे २ वर्षअघि रोजगारीको लागि कतारको एक क्लिन कम्पनीमा पुगेकी थिइन्। ४ वर्षअघि श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी शर्मिलाका नेपालमा दुई छोरी र एक छोरा छन्।

कतार साइवर व्यूरोमा शर्मिलाको उजुरी

बमबहादुरले लगेको पैसा फिर्ता दिनुपर्नेमा उल्टो गाली बेइजत गरेर चरित्र हत्या गरेको भन्दै शर्मिलाले उनी विरुद्द कतार साइवर व्यूरोमा ‘साइवर क्रमाइ’ अन्तर्गतको मुद्दा दर्ता गराएकी छिन्। उनले फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै कतार साइवर व्यूरोमा उजुरी दर्ता गराएकी हुन्।

‘फेसबुकमा मेरो फोटा हालेर श्रीमती भन्दै चरित्र हत्या गरेपछि असह्य भएर पाँचदिन अघि कतारको साइवर व्यूरोमा मुद्दा दर्ता गराएको छु। भोलि फेरि बोलाएको छ,’ उनले भनिन्।

बमबहादुरले बारम्बार फोन तथा म्यासेज गरेर अपशब्द प्रयोग गरी गाली गर्न थालेपछि शर्मिलाले मकवानपुर मिलन केन्द्र कतारमा न्यायको अपिल गर्दै निवेदन दिएकी थिइन्। मिलन केन्द्रकै सहयोगमा उनले कतार साइवर व्यूरोमा मुद्दा दर्ता गराएको मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक सरोज पुडासैनीले डिसी नेपाललाई जानकारी दिए।

शर्मिलाले आफूलाई परेको समस्याबारे नेपाली महिला समाज कतार, नेपाली दूतावास कतार, राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान बाबु अलि मियालगायतका प्रतिनिधिलाई समेत लिखित रुपमा जानकारी गराएकी छिन्।

के भन्छन् बमबहादुर ?

बमबहादुरले भने आफूमाथि शर्मिलाले लगाएको आरोप झूटो भएको बताएका छन्। उनले आफूले कुनै पनि डर धम्की दिएर ब्ल्याकमेल नगरेको दाबी गरे।

आर्थिक लेनदेनको विषयमा भने उनले आफ्नो गल्ती स्वीकार गरे। ‘मैले त्यो कम्पनीमा काम गर्ने ३ जना बहिनीको पैसा लिएको साँचो हो,’ उनले भने, ‘ पैसा ब्याजमा लिएको हुँ। फिर्ता नगर्ने कुरा होइन। पैसा भएपछि फिर्ता गर्छु।’

उनले नेपाल आइसकेकी युवतीलाई एक लाख रुपैयाँ फिर्ता गरिसकेको समेत बताए। आफ्नो परिवारमार्फत एक लाख रुपैयाँ फिर्ता गरिसकेको उनको भनाइ छ। बाँकी पैसा पनि क्रमश फिर्ता गर्दै जाने उनले बताए।

तर, शर्मिलाले दाजुबहिनीको सम्बन्ध भनिरहँदा बमबहादुरले भने उनको यो भनाइलाई अस्वीकार गरेका छन्। उनले शर्मिलासँग आफ्नो सुरुवाती दिनदेखि नै प्रेमिकाको सम्बन्ध रहेको बताए। उनले शर्मिलालाई विहे नै गर्ने योजना भएको सुनाए।

‘मैले बहिनी बनाएको होइन उसलाई।२६ महिनादेखि हामी प्रेमीप्रेमिकाको सम्बन्धमा थियौँ,’ उनले भने, ‘तर, पछिल्लो समय उनकाे अन्य युवकसँग हिमचिम बढेपछि मैले यसो गर्नु हुन्न भनेर सम्झाएको हुँ। अरु त्यस्तो कुनै डर धम्की दिएको छैन।’ उनले शर्मिलालाई माया गर्ने समेत बताए।

बमबहादुरले शर्मिलालाई माया गर्छु, विहे गर्ने योजना छ भने पनि उनका नेपालमा दुई वटा श्रीमती रहेको खुलेको छ।

युवती पीडित देखिन्छन् न्याय दिलाएर छाड्छौँ :  पुडासैनी

मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक सरोज पुडासैनीले भने यो घटनामा युवती नै पीडित देखिएको दावी गरेका छन्। केटाले पठाएका विभिन्न म्यासेज तथा भ्वाइसेज हेर्दा केटा नै दोषी देखिने उनको भनाइ छ।

‘म आफैं युवती बस्ने कम्पनीको क्याम्पसम्म पुगेर यो घटना बुझिरहेको छु,’ पुडासैनीले भने, ‘ सबै कुराहरु हेर्दा युवतीलाई नै तनाव दिएको देखिन्छ। हामी उनलाई न्याय दिलाउन प्रत्यनरत छौँ।’

उनले कतारको सम्बन्धित निकायमा मुद्दा पुगिसकेकोले युवतीले न्याय पाउनेमा आफूहरु विश्वस्त रहेको बताए। विगतमा केटाकेटीको सम्बन्ध के थियो भन्दा पनि कसले के गल्ती गर्यो भन्ने प्रमुख विषय रहेको उनको भनाइ छ। कसैलाई पनि चरित्र हत्या गर्ने अधिकार नभएको उनले बताए।

पैसा पनि तुरुन्त फिर्ता गर्नु पर्ने उनको माग छ। साथीबाट सापटी मागेर बमबहादुरलाई दिएको पैसा फिर्ता नपाएपछि अहिले कम्पनीबाट पनि शर्मिलालाई दवाव परेको छ। साथीहरुले लगेको पैसा फिर्ता नपाएको भन्दै कम्पनीमा उजुरी गरेपछि कम्पनीले उनलाई तुरुन्त पैसा फिर्ता गर्न दवाव दिएको हो।

अहिले कम्पनीले उनको कतारी आइडी कार्ड समेत जफत गरेको पुडासैनीले बताए। पैसा फिर्ता नदिइ विवाद साम्य नभएसम्म कम्पनीले आइडी कार्ड फिर्ता नदिने अडान राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *