सेनाका पूर्वरथी खड्काको निधन
काठमाडौं। नेपाली सेनाका अवकास प्राप्त पूर्व रथी कुलबहादुर खड्काको मंगलबार निधन भएको छ। प्यांक्रियाजको समस्या भएका खड्काको मंगलबार उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
७० वर्षीय खड्कालाई सैनिक सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम विदाई गरिएको छ। २०२७ सालमा नेपाली सेनामा प्रवेश गरेका खड्का २००८ सालमा लम्जुङमा जन्मिएका थिए।
खड्काका एक श्रीमती, एक छोरा र एक छोरी छन्। जनआन्दोलन–२ पछि भएको संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी नेतृत्वको सरकारले खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेको थियो। तर, खड्काले कमाण्ड सम्हाल्न भने पाएनन्। २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्दै खड्कालाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए।
सरकारले गरेको यो नियुक्तीमा तत्कालनी सत्ता साझेदार दल एमालेले विरोध जनाएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि विरोध गरेको थियो। काँग्रेस र एमालेलगायतका दलहरुले तत्कालीन राष्ट्रपति राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर सरकारको नियुक्ती बदर गर्न भनेका थिए। राष्ट्रपति यादवले सेनाको परमसेनाधिपतिको हैसियतमा भन्दै कटवाललाई थमौती गरेका थिए। यो प्रकरणपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएका थिए। नेपालको राजनीतिक इतिहासमा यसलाई ‘कटवाल प्रकरण’का रुपमा चिनिन्छ।







डिसी नेपाल








Facebook Comment