कांग्रेस नेता आनन्द बिष्टद्वारा विपद् राहत कोषमा एक लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द बिष्टले पार्टीको ‘केन्द्रीय विपद् राहत कोष’मा एक लाख रुपैयाँ सहयोग जम्मा गरेका छन्। रसुवाको लेन्दे खोला हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि उनले उक्त रकम सहयोग गरेका हुन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता बिष्टले प्राकृतिक विपद्को कठिन घडीमा पीडितहरूलाई सहयोग गर्नु सबैको नैतिक तथा सामाजिक दायित्व भएको बताएका छन्। सोही दायित्व बोध गर्दै आफूले कांग्रेसद्वारा सञ्चालित राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेको उनले जानकारी दिएका छन्।
विपद्ले सिर्जना गरेको यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूलाई मलम लगाउन र उनीहरूको दैनिक जीवन सामान्य बनाउन ठूलो साधन-स्रोतको आवश्यकता पर्ने भन्दै नेता बिष्टले सबैलाई सहयोगका लागि आह्वान समेत गरेका छन्।
उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक, उद्योगी, व्यवसायी, सङ्घ-संस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार विपद् राहत कोषमा सहयोग गरी पीडितहरूलाई साथ दिन हार्दिक अपील गरेका छन्।
‘हाम्रो सानो सहयोगले पनि पीडित परिवारको अनुहारमा मुस्कान ल्याउन र उनीहरूको पुनर्स्थापनामा ठूलो योगदान पुग्नेछ,’ नेता बिष्टले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो परिस्थितिमा सबै नेपाली एक भएर विपद्को सामना गर्नु नै ठूलो मानवीय धर्म हो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment