कर्मचारीहरु नै नेटवर्किङ व्यवसाय प्रबर्द्धनमा लागेको आरोप

डिसी नेपाल
१५ साउन २०७७ २१:१६

काठमाडौं । नेटवर्किङ व्यवासाय बचाउन उद्योग मन्त्रालयका कर्मचारी नै संलग्न रहेको सांसद अमृता अग्रहरीले आरोप लगाएकी छिन्। विहीबार नेटवर्किङ व्यवसायबारे संसदको उद्योग समितिको बैठकमा छलफल गर्दा उनले यस्ते आरोप लगाएकी हुन्।

समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्ट, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, उद्योग विभागका महानिर्देशक नेत्र सुवेदी लगायतका उपस्थिति थियो। सांसद अग्रहरीले सो समितिमा मन्त्रालयका कर्मचारीहरु नै नेटवर्किङ व्यवासायको प्रबर्द्धन गरेको दावी गर्दै भनिन्, ‘नेटवर्किङ व्यवासाय प्रबर्द्धनका लागि मन्त्रालयका कर्मचारीहरु नै सक्रिय छन्, प्रमाण चाहिएमा पेश गर्न सक्छु, विना आधार बोल्ने मान्छे म होइन।’

उनको आरोपको खण्डन गर्दै उद्योग मन्त्री लेखराज भट्टले आफू कोही कसैसँग नमिलेको स्पष्टीकरण दिँदै भने, ‘यो आरोप लगाउनु अघि ती कम्पनीको हैसियत पनि हेर्नुपर्छ, म पनि गैरकानूनी रुपमा कुनै फाइदा लिँदिन र म मातहतका कर्मचारीहरुले पनि त्यस्तो काम गर्दैनन्य, यदि गरेका छन् भने प्रमाण ल्याउनुहोस् म ठाउँको ठाउँ नै कारबाही गर्छु।’

उनले हाल नेटवर्किङको काम गरिरहेका भनी आरोप लगाइएका ७ वटा कम्पनीहरु ऐन अनुसार नै प्रत्यक्ष कारोबार गर्नका लागि अनुमति दिएका कम्पनीहरु भएको र यदी उनीहरुले नेटवर्किङ व्यवासाय गरेको पाइएमा तत्काल कारबाही गर्ने जिकिर गरे ।

त्यस्तै उद्योग सचिव बैकुण्ठ अर्याल र उद्योग विभागका महानिर्देशक नेत्र सुवेदीले आफूले अहिलेसम्म कुनै पनि अनैतिक काम नगरेको दावी गर्दै भने, ‘यदी आफूहरुले नेटवर्किङ व्यवासायमा नाजायज फाइदा लिएको छ भने प्रमाणित गर्नुहोस् अन्यथा यसरी आक्षेप लगाउने काम नगर्नुहोस्।’

उनीहरुले सवै सांसदहरुलाई नेटवर्किङ व्यवसायमा कुनै मिलेमतो पाए कारबाहीको भागिदार हुन तयार रहेको भन्दै प्रमाण पेश गर्न खुल्ला चुनौति समेत दिए।

सो छलफलमा उनीहरुले अहिले नेटवर्किङ व्यवासाय गरेको आरोप लागेका सात वटा कम्पनीहरुले नेपालको कानून अनुसार नै काम गरेको दावी गर्दै एक कम्पनीले नेटवर्किङको काम नजानेर गरेको भनेकोले उसलाई विभागमा बोलाएर सचेत गरी पठाएको स्पष्ट पारे।

हाल नेचर हब्र्स इन्टरपाइजेज, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस इन्टरनेसनल प्रालि, यू–टर्न इन्टरनेशनल प्रालि र ग्लोबल ओरियन्ट नेपाल प्रालिलाई नेटवर्किङ व्यावसाय गरिरहेको आरोप लागेको छ।

समितिको बैठकमा नेकपा सांसद सरिता गिरी, सोमप्रसाद पाण्डे, भिमसेनदास प्रधान, गोपाल बमले आफू पनि नेटवर्किङ व्यवसायबाट ठगिएको भन्दै बन्द गर्न सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *