कुवेतबाट घर फर्किने सूचीमा अझै ४ हजारभन्दा बढी, राजदूत भन्छन्–‘थेग्न गाह्रो भो’

बिनेश खनाल
४ भदौ २०७७ १२:४८

काठमाडौं । कुवेतबाट अझै ४ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने सूचीमा रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसका कारण नेपालीको रोजगारी पनि प्रभावित भएकोले उनीहरुलाई चाँडै उद्धार गर्नुपर्ने अवस्था आएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए।

उनका अनुसार १ अगष्टपछि कुवेतबाट काठमाडौँका लागि कुनै पनि उडान भएका छैनन् । उडानहरु नभएपछि दूतावासलाई दवाव बढिरहेको उनको भनाइ छ । ‘१ अगष्टपछि यहाँबाट एउटा पनि उडान भएको छैन,’ भण्डारीले डिसी नेपालसँग टेलिफोनमा भने, ‘दूतावासलाई दवाव निकै बढेको छ । थेग्नै गाह्रो हुने स्थिति छ । सरकारले तुरुन्तै उडान सुचारु गर्नुको विकल्प छैन ।’

कुवेतबाट स्वदेश फर्कने नेपालीहरुको संख्या धेरै रहेको तर सरकारले कुवेतका लागि सीमित संख्यामा चार्टर्ड जहाजका लागि अनुमति दिने गरेकोले थेग्न नसकेको उनको भनाइ छ। अहिले त उडान नै बन्द गरेपछि समस्या अरु बढ्दै गएको उनले बताए । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफरिसमा सरकारले मंगलबारदेखि सबै चार्टर्ड उडान बन्द गरेपछि अहिले कुनै पनि देशबाट विमान आउन पाउँदैनन् ।

रोजगारी गुमाएर बसिरहेका नेपालीहरुसँग घर फर्किने बाहेक अर्काे विकल्प नभएकोले उनीहरुलाई यथाशिघ्र फर्काउनु पर्ने राजदूत भण्डारी बताउँछन् । काम गुमाएर आम्दानीविहीन भएको लामो समयसम्म पनि उद्धार नहुँदा समस्या अरु बल्झिँदै गएको उनले बताए ।

‘यहाँ रोजगारी गुमाएर लामो समयदेखि बसेका नेपाली पनि अझै धेरै हुनुहुन्छ । कतिपयलाई त कम्पनीले अवस्था सामान्य नहुँदासम्म बेतलवी बिदा बस्न पनि भनेका छन् । केहीलाई आधा तलब दिएर काम गराइरहेको अवस्था पनि छ,’ उनले भने, ‘रोजगारी गुमाएर बसेका मात्रै नभएर बेतलबी बस्नु परेका, आधा तलब खाएर काम गर्न बाध्य भएका सबै नेपाली फर्किन चाहेका छन् । ढिलो चाँडो उनीहरुलाई पनि फर्काउनै पर्छ । त्यसैले उडान सुचारु गर्नुको विकल्प छैन ।’ नेपाल सरकारबाट हुने आकस्मिक निर्णयहरुले दूतावासलाई समस्या थपिने उनी बताउँछन् । उद्धार हुन ढिला भए स्थिति बिग्रँदै जाने र थप समस्या झेल्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालीहरुलाई आइपरेका समस्याहरु सहजीकरण गर्न दूतावासका कर्मचारीहरु निरन्तर खटिरहेको पनि बताए । कोरोना महामारीले गर्दा अवस्था पनि जटिल भएकोले समयमै समस्या समाधान गर्न कठिन भएको राजदूत भण्डारीले बताए । तथापि दूतावासमा आउने नेपालीका गुनासो सम्बोधन गर्न कर्मचारीहरुले हरसम्भव प्रसास गरिरहेको उनको भनाइ छ । समस्यामा परेका नेपालीहरुलाई राहत वितरणको लागि एनआरएनएलगायत त्यहाँ क्रियाशील रहेका नेपाली संघसंस्थासँग दूतावासले समन्वय गरेर काम गरिरहेको पनि उनले बताए ।

यद्यपि प्रारम्भिक चरणमाभन्दा कुवेतमा समस्या घट्दो क्रममा रहेको उनले बताए । बिस्तारै–बिस्तारै कुवेतले लकडाउनलाई खुकुलो बनाउँदै गएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको उनको भनाइ छ । तर, रोजगारीको क्षेत्रमा परेको प्रभाव तत्कालै सामान्य अवस्थामा नआउने उनले बताए । त्यसैले रोजगारी गुमाएका नेपालीलार्ई घर फर्काउनेबाहेक विकल्प नभएको उनी बताउँछन् ।

हालसम्म कुवेतबाट ६ हजार ३२९ जना नेपाली स्वदेश फर्किसकेका छन् । उनीहरुमध्ये २ हजार ९ सय ९१ जना आममाफी पाएका नेपाली हुन् । आममाफी पाएकाहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काइदिने व्यवस्था गरेको थियो । कुवेत सरकारले आफ्नै खर्चमा जजीरा एयरका चार्टर्ड जहाज उडाएर उनीहरुलाई काठमाडौं ल्याइ छोडेको थियो । अन्य बाँकी नेपाली भने आफ्नै खर्चमा समान्यभन्दा दोब्बर भाडा तिरेर चार्टर्ड फ्लाइटमा आएका हुन् । उनीहरुमध्ये धेरैजसोले आफ्नै पैसाले टिकट काटेका थिए भने केहीलाई रोजगारदाता कम्पनीले उपलब्ध गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *