वृक्षरोपणसहित सुन्दर बगैँचामा वाग्मती सफाइ

डिसी नेपाल
१३ भदौ २०७७ २२:२४

काठमाडौं । वाग्मती सफाइ महाभियानको ३८१ औंँ हप्तामा शङ्खमूल क्षेत्रको नदी किनारमा वृक्षरोपणसहित सफाइ गरिएको छ । त्यस क्षेत्रको वाग्मती नदी किनारस्थित सत्य साई सङ्गठनको निर्माणाधीन बगैंँचा क्षेत्रमा वृक्षरोपणसहित सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

काठमाडौँ उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी सफाइ अभियानलाई साङ्केतिक रुपमा निरन्तरता दिइएको हो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच सफाइ महाभियानलाई निरन्तरता दिइएको छ । अभियानकर्मी नरेन्द्रबहादुर श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रबहादुर बस्नेत, नवनियुक्त वाग्मती आयोजना प्रमुख नवराज प्याकुरेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, १० नं वडाध्यक्ष रामकुमार केसीलगायत जनप्रतिनिधिको समेत सक्रियता थियो ।

कार्यक्रममा जननिर्वाचित वडा सदस्य, सफाइ अभियाकर्मी डा लक्ष्मी पौडेल, नारायण श्रेष्ठ, माला खरेल, हेमराज कार्की, रामशरण कार्की, चक्रबहादुर चन्द, प्रमिला पौडेल, प्रिया लामिछाने, सत्य साई केन्द्र परिवारको उपस्थितिमा सफाइ भएको थियो ।

सो अवसरमा सफाइ अभियानकर्मी नरेन्द्रबहादुर र हेमराज कार्कीका सुपुत्र अपूर्वको जन्मदिनका उपलक्ष्यमा समी, रुद्राक्ष, कपुर, अमलालगायत जातका ११ वृक्षरोपण गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन् ।

अधिकारसम्पन्न वाग्मतीका नवनियुक्त आयोजना प्रमुख प्याकुरेललाई सो अवसरमा अभियानकर्मीका तर्फबाट स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामनासमेत दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.