नेपालसँग पर्यटन क्षेत्रमा सहकार्य गर्न ओमन सकारात्मक

डिसी नेपाल
२ असोज २०७७ १२:४१

काठमाडौं । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनका सम्पदा तथा पर्यटन मन्त्री स्यालिम विन मोहम्मद अल मर्‌हुक्कीसँग शिष्टाचार भेट गरेकी छिन् । बिहीबार मन्त्री मर्‌हुक्कीसँग उनकै कार्यकक्षमा भेट गरी राजदूत पराजुलीले सम्पदा तथा पर्यटन मन्त्रीको रूपमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन समेत गरिन्।

मस्कटस्थित नेपाली दूतावासका अनुसार राजदूत पराजुलीले मन्त्री मर्‌हुक्कीलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीय स्थलहरूको वर्णन गर्दै पछिल्लो दिनमा ओमनबाट जाने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी गराएकी थिइन्। उनले आगामी दिनमा समेत मन्त्री मर्‌हुक्कीलगायत समस्त ओमन सरकारबाट पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि अनुरोध गरेको दूतावासले जनाएको छ।

छलफलमा मन्त्री मर्‌हुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्परता देखाएको दूतावासको भनाइ छ।

मन्त्री मर्‌हुक्कीले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे खुशी जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि नेपालसँग एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ।

भेटमा मन्त्री मर्‌हुक्कीले ओमनको पर्यटन प्रबर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी हस्पिटलिटीको क्षेत्रमा राम्रो योगदान रहेको उल्लेख गरेका थिए। भेटमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको दूतावासले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *